बागलुङ लेखानीका युवाले कोदोको विस्कुट उत्पादन थाले

केन्द्रभाग मिडिया

गलकोट ।

गण्डकी प्रदेश अन्तर्गतको जिल्ला बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका युवा चानसिंह श्रीसले कोदोको बिस्कुट उत्पादन गरेर बिक्री गर्न थालेका छन् ।

श्रीसले घरेलु उद्योगमार्फत पुरानो खाद्यन्न बाली कोदोलाई बागलुङमा ‘ब्रान्डिङ’ गरेर यसको पिठोबाट बिस्कुट उत्पादन गर्न थालेका हुन् ।गाउँमै उद्यम गरेर स्वरोजगार बन्नका लागि सात वर्षदेखि कोदोको बिस्कुट बनाउने विषयमा अध्ययन तथा अनुसन्धानपछि उनले कादोको बिस्कुट उत्पादनमा सफलता हासिल गरेका हुन् । विस २०७७ मा सो उद्योग स्थापना भएको थियो ।

लामो समयदेखि आलु, कोदो, जौ र मकैको बिस्कुट बनाउनका लागि अध्ययनपश्चात् पहिलो चरणमा कोदोको बिस्कुट उत्पादन गरेको युवा व्यवसायी श्रीसले जानकारी दिए । कोदोपछि आलुको बिस्कुट बजारमा पठाउने उनको योजना रहेको छ ।

५० लाख लगानीमा कोदोको बिस्कुट उत्पादन गरि बजारमा पुर्याएको उनले बताएका छन् । उनले भनेका छन्,‘अहिले धेरै स्थानबाट कोदोको बिस्कुटको माग बढिरहेको छ, कोदोको बिस्कुटको निकै राम्रो सम्भावना देखेको छु ।’

कुनै समय गरिबको खानाको रुपमा चिनिएको कोदोको परिकारको महत्व पछिल्लो समय बढिरहेको सन्दर्भमा युवा व्यवसायी श्रीसले नेपालमै पहिलोपटक कोदोको बिस्कुट बजारमा ल्याएको दाबी गरे । आफूले सिए अध्ययन गर्ने क्रममा विभिन्न उद्योगको अवलोकन भ्रमणको क्रममा बिस्कुट कम्पनीको अध्ययन गरेको बताउँदै सिए बन्ने सपना पूरा नभए पनि उद्यमी बन्ने सपना पूरा गर्नतर्फ लागेको बताए । उनले अहिले गुणस्तरीय प्याकेटमा ७० ग्रामको कोदोको बिस्कुटलाई २० रुपैयाँमा बजार पठाएको बताए ।

उद्योग स्थापनाका लागि गण्डकी प्रदेश सरकारले ग्रामीण साना घरेलु उद्योग स्थापना कार्यक्रमअन्तर्गत रु १० लाख अनुदान पाएपछि आफूले उद्योग सुरु गरेको उनको भनाइ छ । गाउँमा रहेको कच्चा पदार्थ कोदोलाई ब्रान्ड बनाउन सके कोदोको उत्पादन बढ्ने उनको भनाइ छ ।

जिल्लाको बजारमा बिक्रीका लागि पठाइएको कोदोको बिस्कुटको माग बढेको मात्रै छैन नमूना बजारीकरणका लागि पोखरा र काठमाडौँको सुपर मार्केटमा समेत पठाएको उनको भनाइ छ । आफूले उत्पादन गरेको बिस्कुट खाद्य तथा गुण नियन्त्रणको कार्यालयबाट प्रमाणित भइसकेपछि बजारमा पुगेको हो । अर्गानिक गाउँको उत्पादित कोदोबाट बनाइएको बिस्कुटले स्वास्थ्यलाई समेत फाइदा गर्ने उनको भनाइ छ ।

दैनिक ६० केजी बिस्कुट उत्पादन गर्ने क्षमता उद्योगको रहेको छ । उद्योगमा अहिले दुई जनालई प्रत्यक्ष रोजगारी समेत दिएको उनको दाबी छ ।

  • १३ फाल्गुन २०८०, आईतवार १०:०३ प्रकाशित