काठमाडौँ ।
सुदूर पूर्व र सुदूरपश्चिमबाट काठमाडौँ पुगेका मिटर ब्याज पीडितहरू सिंहदरबार क्षेत्र प्रवेश नपाएपछि भृकुटीमण्डप सडक खण्डमै धर्ना बसेका छन् । शुक्रवार पीडितहरू न्याय मार्चको तेस्रो चरणको कार्यक्रम अन्तर्गत ‘सिंहदरबार मार्च’मा निस्किएका हुन् ।
मिटर ब्याज पीडितहरूले न्याय माग्दै १६ माघमा पूर्व मेची र पश्चिम महाकालीबाट एकै पटक न्याय मार्च सुरु गरेका थिए । पूर्वबाट हिँडेको टोली ६ सय किलोमिटर र पश्चिमको टोली २३ दिन लगाएर ७ सय किलोमिटर हिँड्दै काठमाडौँ आइपुगेको हो ।
उनीहरू बुधवार बेलुका थानकोटस्थित पार्कमा बसेका थिए । बिहीबार सिंहदरबार जाने कार्यक्रम भए पनि पानीका कारण रोकिएका उनीहरू शुक्रवार गएका थिए ।













