मनाङ ।
हिमाली जिल्ला मनाङमा हिमपातको समय घर्किसकेको पछि भारी हिमपात भएको छ । यस वर्ष फागुन दोस्रो साताबाट मात्रै भारी हिमपात भएको छ ।
बुधबार साँझदेखि यहाँ हल्का हिमपात सुरु भएकामा रातभर भारी हिमपात भएको छ । समय घर्किसकेपछि परेको हिमपातले यहाँका घर, डाँडाकाँडा सेताम्मे भएका छन् । समयमा हिउँ परेको भए हिउँदमा पनि पर्यटक हिउँ खेल्न आउने गर्दथे । तर यस वर्ष समयमा हिउँ नपर्दा पर्यटक भने आउन सकेनन् ।
हिमपात भारी भएपछि पर्यटक हिउँ खेल्न आउने अपेक्षा गरिएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले बताएका छन् ।
उनले भने, ‘कम मात्रामा हिउँ परिरहेकै हो । चिसो अत्यधिक नै थियो । तर हिजो साँझदेखि रातभर भने भारी हिउँ पर्यो । जसले किसानलाई खुसी बनाएको छ । यसले पर्यटकलाई आकर्षण पनि गर्नेछ ।’
जाडो छल्न बाहिर गएका मनाङी जिल्ला फर्किरहेको उनले बताए । अब खेती गर्ने याम पनि सुरु हुने भएकाले हिमपात भएपछि किसान हर्षित भएको प्रजिअ लामिछानेले बताए ।













