भुस्याहा कुकुरको आक्रमणबाट चार लाख मूल्य बढीका कुखुरा मारिए

केन्द्रभाग मिडिया

कञ्चनपुर ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ अमरपुरस्थति आशा ऐरको कुखरा फार्मभित्र छिरेका भुस्याहा कुकुरले चार लाख मूल्य बढीका कुखुरा मारेर नोक्सानी पुर्याएका छन् ।

आज बिहान कुखुरा फार्मको तारजाली तोडेर भित्र पसेको भुस्याहा कुकुरको हुलले अण्डा दिने लेयर्स जातका छ सय कुखुरा मारिदिएको हो । सय बढी कुखुरा घाइते छन् । “बैंकबाट रु १२ लाख बढी कर्जा निकालेर एक हजार दुई सय अण्डा दिने कुखुरा पालेका थियौँ”, फार्म सञ्चालक आशाले भने, “दैनिक कुखुराले चार पेटी जति अण्डा दिँदै आएका थिए, भुस्याहा कुकुर फार्मभित्र छिरेर कुखुरा मारिदिएपछि निकै ठुलो नोक्सानी व्यहोर्न बाध्य भएका छौँ ।”

फार्ममा पाँच सय जति कुखुरामात्रै बाँकी रहेको उनले बताए। फार्मभित्र कुकुरले कुखुरा मारेर खान थालेपछि कुखुराको आवाज सुनी कुकुरलाई भगाउन सकिएको उनले बताए । वडाध्यक्षको रोहवरमा प्रहरी मुचुल्का तयार गरिएको उनको भनाइ छ । नगरपालिका क्षेत्रमा भुस्याहा कुकुर नियन्त्रण नहुँदा किसानले निकै सास्ती खेप्नुपरेको स्थानीय जयबहादुर ऐरले बताए ।

  • १० फाल्गुन २०८०, बिहीबार १५:४९ प्रकाशित