काठमाडौं ।
नेपालीहरुले अब भारतमा भारतीय सिमकार्ड लिन पाउने भएका छन् । भारतका लागि नेपाली राजदूत डा.शंकरप्रसाद शर्माले सामाजिक सन्जाल एक्समार्फत् यो जानकारी दिएका हुन् ।
उनका अनुसार अब नेपाली नागरिकहरुले आफ्नो राहदानी, नागरिकताको प्रमाणपत्र, मतदाता परिचय पत्र वा दूतावासले जारी गरेको परिचय पत्रको आधारमा भारतको सीमकार्ड लिन सक्ने छन् ।
यसअघि नेपाली नागरिकहरुले भारतीय सिमकार्ड पाउँदैनथे । भारत पुगेका नेपालीहरुले भारतीय नागरिककै सिमकार्ड प्रयोग गर्नुपर्ने बाध्यता थियो ।भारतमा चिनजान केही नहुने भ्रमणकर्ता वा काममा जाने नेपालीहरुले त्यहाँ सिमकार्ड लिन नपाउँदा ठूलो सास्ती बेहोर्नुपरेको छ ।
यो समस्या समाधानका लागि भारतका लागि नेपाली राजदूत डा। शर्माले पहल गरेका थिए । ‘यसअघि प्राविधिक कारणले नेपालीलाई भारतीय सीमकार्ड दिन अस्वीकार गरिएको थियो । हाम्रो अनुरोधपछि भारतको विदेश मन्त्रालय र सञ्चार मन्त्रालयले स्वीकार गरेको छ,’ डा.शर्माले एक्समा लेखेका छन् ।













