पोखरा ।
ट्राफिक प्रहरीले चालू आर्थिक वर्षको छ महिनामा गण्डकी प्रदेशमा विभिन्न सवारी साधनहरुलाई कारबाही गर्दा ८ करोड ६८ लाख ४५ हजार ४३५ रुपैयाँ राजश्व संकलन गरेको छ । गत साउन देखि पुस मसान्तसम्ममा १ लाख ९ हजार ९०३ सवारी साधन कारबाहीमा परेका गण्डकी प्रदेश ट्रफिक प्रहरी कार्यालय (नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौँडा) ले जानकारी दिएको हो ।
गण्डकी प्रदेश ट्राफिक प्रमुख सुमन कुमार तिम्सिनाका अनुसार सबारी कारबाहीबाट सबैभन्दा धेरै राजश्व कास्कीबाट उठेको छ । कास्कीमा ३८ हजार ८९८ सवारी कारबाहीमा पर्दा २ करोड ९४ लाख ३१ हजार ५०० रुपैयाँ राजश्व उठेको हो । हिमाली जिल्ला मनाङमा सबैभन्दा कम राजश्व उठेको छ । उक्त जिल्लामा ८०१ सवारी कारबाहीमा पर्दा ७ लाख ९५ हजार रुपैयाँ राजश्व उठेको छ ।
नवलपुरमा १२ हजार ७३४ सवारी साधन कारबाहीमा पर्दा १ करोड ५२ लाख ३ हजार रुपैयाँ राजश्व उठेको छ । तनहुँमा १५ हजार ९१४ सवारी कारबाहीमा पर्दा १ करोड २६ लाख १३ हजार ५०० रुपैयाँ, स्याङ्जामा ७ हजार ३२६ सवारीसाधन कारबाहीमा पर्दा ५२ लाख ५० हजार ५०० रुपैयाँ, वागलुङमा ९ हजार ६०५ सवारीसाधन कारबाहीमा पर्दा ६७ लाख ३४ हजार ५०० रुपैयाँ राजश्व संकलन भएको छ ।
यसैगरी लमजुङमा ४ हजार १९६ सवारी साधन कारबाहीमा पर्दा २७ लाख ८३ हजार राजश्व संकलन भएको छ । गोरखामा ५ हजार ३८ सवारी साधन कारबाहीमा पर्दा ३७ लाख ४८ हजार रुपैयाँ, मुस्ताङमा २ हजार ८७ सवारीसाधन कारबाहीमा पर्दा १५ लाख ६७ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।
प्रदेश ट्राफिक कार्यालय गण्डकीबाट प्राप्त तथ्यांक अनुसार गण्डकीमा १० हजार ६८६ ट्रक/टिप्परबाट ७७ लाख ३८ हजार ५०० रुपैयाँ, १० हजार १४९ बसबाट ६६ लाख ७२ हजार रुपैयाँ, ३८ हजार ४९८ कार जिपबाट २ करोड ८८ लाख ३ हजार ५०६ रुपैयाँ, ४ हजार ९५ ट्रयाक्टरबाट २८ लाख ११ हजार ५०० रुपैयाँ, ४३ हजार २८० मोटरसाइकल बाट ३ करोड ४६ लाख ८१ हजार ५०० रुपैयाँ राजश्व संकलन भएको छ ।
गत आर्थिक वर्ष २०७९/८० मा २ लाख ३८ हजार सवारी साधन कारबाहीमा परेका थिए । जसबाट १९ करोड ६८ लाख ६० हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको थियो ।














