पोखरा ।
भावना रानाभाटले कौसी क्वीन पोखरा २०८० को उपाधि जितेकी छन् । शनिवार सम्पन्न अन्तिम प्रतिस्पर्धामा पोखरा ६ की कौसी कृषक रानाभाटले १८ जना प्रतिष्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन् । विजेता रानाभाट वडा स्तरीय कृषि सञ्जाल पोखरामा ६ मा आबद्ध छन्। उनले उपाधिसँगै नगर रु।१५ हजार, ट्रफी, कौसी क्वीनको ताज, कप र प्रमाण पत्र समेत हात पारिन ।
प्रतियोगितामा पोखरा ७ की हरि कुमारी श्रेष्ठ उपविजेता भएकी छन् । यस्तै पोखरा ८ की कान्ति कुमारी अधिकारी तेस्रो र पोखरा १७ की गायत्री अर्याल सान्त्वना भएकी छन् । उनीहरूलाई क्रमशः नगद रु।१० हजार, ७ हजार, ५ हजार र ३ हजार सहित प्रमाण पत्र र कप पुरस्कार स्वरूप प्रदान गरिएको छ ।

प्रतियोगितामा कौसी खेतीमा संलग्न १९ जना कौसी कृषकहरूले भाग लिएका थिए । यस्तै शनिवार नै भएको वडा स्तरीय कौसी बाली प्रतियोगितामा पोखरा ८ प्रथम भएको छ । वडा स्तरीय कृषि सञ्जालका बीचमा भएको उक्त प्रतियोगितामा कृषि सञ्जाल पोखरा ८ प्रथम भएको हो । उसले नगद रु।१० हजार पुरस्कार प्राप्त गरेको छ ।
कृषि सञ्जाल पोखरा १७ दोस्रो, पोखरा ७ तेस्रो र पोखरा ९ सान्त्वना भएका छन् । उनीहरूलाई क्रमशः नगद रु.७ हजार, ५ हजार र ३ हजार प्रदान गरिएको छ । विजेताहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पुरस्कार प्रदान गरेका हुन् ।













