संघीय संसदको अधिवेशन आजदेखि, यस्तो छ आजकोे सम्भावित कार्यसूची

केन्द्रभाग मिडिया

पोखरा ।
संघीय संसद्को तेस्रो अधिवेशन आज सुरु हुँदैछ । आज अपराह्न ४ बजे संसद बैठक बस्ने संसद सचिवालयले जनाएको छ । यो संसदको हिउँदे अधिवेशन हो । बैठक सञ्चालनका लागि गर्नुपर्ने प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको तयारी पूरा भएको संघीय संसद् सचिवालयले जनाएको हो ।

नेपालको संविधानले स्थायी, प्रबुद्ध समूहको प्रतिनिधित्व रहने माथिल्लो सदन राष्ट्रियसभा र तल्लो सदन प्रतिनिधिसभाको व्यवस्था गरेको छ । यस पटकदेखि अधिवेशनलाई कानुन निर्माणका हिसाबले प्रभावकारी र चुस्त तुल्याउन पाक्षिकरुपमा क्यालेण्डर बनाएर जाने तयारी भएको छ । तयारीका सन्दर्भमा हरेक १५–१५ दिनमा कार्यतालिका बनाउने र त्यसका आधारमा बैठक सञ्चालन गर्ने तयारी छ ।

विधेयक अधिवेशनकारुपमा रहने हिँउदे अधिवेशनका लागि हाल सङ्घीय संसद्मा २४ विधेयक छन्। त्यसमध्ये १६ विषयगत समिति छन् । एउटा विधेयक लामो समयदेखि राष्ट्रियसभामा थाँती छ ।

जनताको सार्वभौमसत्ताको प्रयोग हुने सबैभन्दा माथिल्लो सभाकारुपमा रहने सङ्घीय संसद्को वर्षे र हिउँदे अधिवेशनबीच ६ महिनाभन्दा बढी समय खाली हुन नहुने संवैधानिक व्यवस्था छ । सङ्घीय संसद्को दोस्रो अधिवेशन गत कात्तिक १६ गते अन्त्य भएको थियो ।

संसद्मा जनप्रतिनिधिले निर्वाचन क्षेत्र, जिल्ला तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयवस्तुमा आकस्मिक, शून्य समय र विशेष समय मार्फत सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने चलन छ । सो क्रममा कतिपय अवस्थामा सांसदले सरकारका काम कारबाहीलाई प्रभावकारी तुल्याउन सार्वजनिक महत्व, जरुरी, सार्वजनिक, स्थगन, सङ्कल्प, संशोधन, खर्च कटौतीजस्ता प्रस्ताव प्रस्तुत गरी छलफल गराउने परम्परा छ ।

अहिले प्रतिनिधिसभामा नेपाली काग्रेसका ८८, नेकपा एमालेका सभामुखसहित ७८, नेकपा माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभामुखसहित २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टी नेपाल ९जसपा० का १२, नेकपा एकिकृत समाजवादीका १०, जनमत पार्टीका ६, लोकतान्त्रिक समाजवादी पार्टीका चार र नागरिक उन्मुक्ति पार्टीका चार सांसदको प्रतिनिधित्व छ ।

त्यस्तै नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टीका एक–एक तथा दुई स्वतन्त्र सांसदको प्रतिनिधिसभामा प्रतिनिधित्व छ ।

भूगोल र जनसङ्ख्याका आधारमा कायम गरिएको निर्वाचन क्षेत्रबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीद्वारा निर्वाचित एक सय ६५ तथा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित एक सय १० समेत गरी प्रतिनिधिसभा दुई सय ७५ सदस्यीय रहने संवैधानिक व्यवस्था छ ।

प्रबुद्ध वर्गको प्रतिनिधित्व हुने ५९ सदस्यीय राष्ट्रियसभा भने प्रदेशगतरुपमा निर्वाचित भएर आउने ५६ र सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनीत हुन तीन जना रहने व्यवस्था छ । हिउँदे अधिवेशन सरकारले दिने ‘बिजनेस’ र सदनका गतिविधिका आधारमा कति समय चल्छ भन्ने निर्धारण हुनेछ ।

 यस्तो छ संसद्को आजकोे सम्भावित कार्यसूची

संसद् सचिवालयले सोमबार बस्ने संघीय संसद् बैठकको सम्भावित कार्यसूची तय गरेको छ । संसद्का महासचिव पद्यमप्रसाद पाण्डेले आइतबार सार्वजनिक गरेको संघीय संसद्को सम्भावित कार्यसूचीमा सभामुखले राष्ट्रपतिको अधिवेशन आह्वानबारे पत्र पढेर सुनाउने, राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने, बैठकको अध्यक्षता गर्ने सांसदहरूको मनोनयन रहेका छन् ।

त्यस्तै विद्युत् व्यापार विधेयक २०८० र राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक टेबल गर्ने तथा अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश पेस गर्ने कार्यक्रम रहेको छ । त्यस्तै बाधा अड्काउ फुकाऊ आदेश पेस गर्ने सम्भावित कार्यसूची तय भएको छ ।

 

 

 

  • २२ माघ २०८०, सोमबार ०७:१० प्रकाशित