नवोदित गायक बलराम खनाल र सञ्जु खनालले मौलिक तीज गीत सार्वजनिक गरेका छन् ।
नेपाली नारीको सांस्कृतिक पर्व हरितालिका तीजको अवसर पारेर उनीहरुले ‘दिदी–भाइको गन्थन’ भाग–२ बजारमा ल्याएका हुन् । गत बर्ष सार्वजनिक भएको भाग १ ले दर्शक स्रोताको मन जित्न सफल भएपछि भाग २ लाई पनि संगीत बजारमा ल्याईएको नवोदित गायक बलराम खनालले बताए । तीज पर्वका नाममा भड्किला गीतहरु आईरहेको बेला, ग्रामीण परिवेश र आफ्नै पाखा पखेरामा गाईने भाका र शब्दलाई टपक्क टिपेर प्रस्तुत गरिएको गायिका सञ्जु खनालले जानकारी दिईन् ।
भंगरा महेश्वर समुहको प्रस्तुती रहेको गीतलाई मोति डिजिटलले बजारमा ल्याएको हो । गीतमा बलराम खनाल र सञ्जु खनालको स्वर रहेको छ भने म्युजिक भिडियोमा लक्ष्मी पौडेलको नृत्य समावेश गरिएको छ । उनलाई समुहका अन्य सदस्यले साथ दिएका छन् । मौलिक भाकाको शब्द रचना गायक खनालले नै गरेका हुन् । गीतको भिडियोमा तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित एक्लेखेतका रमणिय दृश्यहरु समावेश गरिएको छ । मोति डिजिटल युट्युव च्यानलमा सोमबार सार्वजनिक भएको गीत र भिडियोले राम्रै भ्युज पाएको छ।
यसअघि नवोदित गायिका लक्ष्मी खनाल पौडेलले पनि ‘बाबा आमालाई सेवा गरौ’ जस्तो सामाजिक मौलिक गीत सार्वजनिक गरेकी थिईन् । उक्त गीतले पनि राम्रो प्रशंसा पाएको र समाजलाई सकारात्मक सन्देश दिएको बताईएको छ ।












