काठमाडौं ।
राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले आगामी हिउँदे अधिवेशनका लागि माघ र फागुन महिनाको सम्भावित कार्यतालिका स्वीकृत गरेको छ ।
आज बसेको बैठकले सम्भावित कार्यतालिका स्वीकृत गरेपछि संसदको अधिवेशनको प्रारम्भ र अन्त्य हुने दिनका बारेमा संसदलाई पूर्वजानकारी गराउनुपर्ने भएकाले कार्यतालिका बनाउन सहज हुने विश्वास गरिएको छ ।
कार्यतालिकाअनुसार अघि बढ्न संसदको आउने अधिवेशनमा सरकारले कतिवटा के कस्ता विधेयक दर्ता गराउने हो भन्ने विषयमा संसद अधिवेशन प्रारम्भ हुनुभन्दा अगावै संसदलाई जानकारी दिन आग्रह गर्ने निर्णय भएको राष्ट्रियसभाको अध्यक्षको सचिवालयले जनाएको छ ।
राष्ट्रियसभामा लामो समयदेखि विचाराधीन अवस्थामा रहेको अध्यागमन विधेयक फिर्ता लिने वा अगाडि बढाउने हो भन्ने विषय टुंगो लगाउन पनि बैठकले सरकारलाई आग्रह गरेको छ ।














