सुर्खेत ।
रुकुम पश्चिममा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण भएको छ । ईलाका प्रहरी कार्यालय बाँफिकोट गाउँपालिका–३, स्यार्पुमा प्रहरीमाथि आक्रमण हुँदा प्रहरी जवान महेन्द्र बहादुर शाही र हिमराज खड्का घाइते भएको रुकुम पश्चिम प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार घटना आइतबार बेलुकाको हो । खड्काका अनुसार बाँफिकोट गाउँपालिका–५ का ३४ वर्षीय हिरालाल केसीलाई बाँफिकोट गाउँपालिका–३ का २७ वर्षीय गोविन्द बिक, वडा नम्बर –४ का २२ वर्षीय लक्ष्मण बिक, २० वर्षीय सञ्जु खड्का लगायत अन्य १२–१३ जनाको समूहले कुटपिट गरेका थिए ।
स्थानीयले फोनमार्फत प्रहरीलाई उक्त सूचना दिए । त्यस पश्चात् प्रहरी नायव निरीक्षक शोभा सिंह थारुको कमान्डमा चार जनाको प्रहरीको टोली घटनास्थल पुगेको थियो ।
घटनास्थलमा पुगेर सम्झाइ–बुझाइ गर्न खोज्दा उल्टै प्रहरीमाथि आक्रमण भएको खड्काले बताए । आक्रमणमा परी घाइते भएका प्रहरी जवान शाहीको ढाडमा र खड्काको टाउकोमा चोट लागेको छ । घाइतेलाई उपचारका लागि आइतबार राति नै जिल्ला अस्पताल सल्ले लगिएको र थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा पठाइएको छ ।
प्रहरीमाथि आक्रमण गर्ने व्यक्तिहरू फरार रहेको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।














