काठमाडौं ।
आफूलाई धर्मगुरुको रुपमा चिनाएर अनुयायीलाई बलात्कार र बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनविरुद्ध जाहेरी दिने एक पीडितको बुबाको सवारी दुर्घटनामा ज्यान गएको छ ।
मदनभण्डारी राजमार्ग अन्तरगत सिन्धुलीको कमलामाई नगरपालिका-९, कोरुङ खोलामा ट्याक्टरले ठक्कर दिँदा किशोरीका बुबा गम्भीर घाइते भएका थिए ।
घाइते उनको उपचारका क्रममा जिल्ला अस्पताल, सिन्धुलीमा ज्यान गएको सिन्धुली प्रहरी प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार, डकाहाबाट भिमालतिर जाँदे गरेको प्र २-०४-००१ ट ००१० नम्बरको ट्याक्टरले दुई वटा मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुई मोटरसाइकलमध्ये बा ५८ प ९१४१ नम्बरमा सवार किशोरीको बुबाको ज्यान गएको छ भने अर्को मोटरसाइकल ना ११ प ५७५० मा सवार अर्का व्यक्ति उपचारपछि डिस्चार्ज भएका छन् ।
प्रहरीले चालक र ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । एसपी सिलवालका अनुसार, बम्जनको घटनासँग जोडेर पनि दुर्घटनाको अनुसन्धान हुनेछ ।
५ वर्षदेखि फरार रहँदै आएका बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २५ पुसमा पक्राउ गरेको थियो । जिल्ला अदालत, सर्लाहीको आदेशपछि उनी पुर्पक्षका लागि थुनामा छन् ।












