पोखरा ।
पोखरामा आजदेखि सुरु आहा रारा पोखरा गोल्ड कपको उद्घाटन खेलमा आयोजक सहारा क्लव थ्रीस्टार क्लबसंग पराजित भएको छ । थ्रीस्टार क्लवले सहारालाई २–१ गोल अन्तरले हराउँदै अन्तिम आठमा स्थान पक्का गरेको हो । हारसंगै सहारा क्लव भने प्रतियोगिताबाट बाहिरिएको छ ।
थ्रीस्टारको जितमा एञ्जल महर्जन र योगेश गुरुङले गोल गरे । सहाराका लागि आशिष गुरुङले एक गोल फर्काए ।
खेलको छैटौ मिनेटमा योगेशको गोलमा थ्रीस्टारले सुरुवाती अग्रता बनाएको थियो । गोलरक्षक टेकेन्द्र थापासँग ठोक्कीएर आएको रिबाउन्डमा योगेशलले बललाई पोष्टको जाली चुमाएका थिए ।
खेलको २३ औं मिनेटमा आशिषको गोलमा सहारा क्लब खेलमा फर्किएको थियो। लक्ष्मण रुचालको फ्रिकिकमा आशिषले हेड होडर गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
खेलको ५९ औं मिनेटमा एन्जलको गोलमा थ्रीस्टारले आयोजक टोलीविरुद्ध पुनः अग्रता बनाएको हो ।
त्यसपछि खेलमा थप गोल हुन नसक्दा थ्रीस्टारले अन्तिम आठमा स्थान पक्का गरेको हो। थ्रीस्टारले अब क्वार्टरफाइनलमा भुटानको पारो एफसीसँग खेल्नेछ ।
प्रतियोगितामा बुधबार त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार फुटबल क्लबबीच खेल हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित १२ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले ६ लाख १ हजार रुपैयाँ पाउनेछन् ।