पोखरा ।
महिला शान्ति र सुरक्षा सम्बन्धि संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको प्रस्ताव न १३२५ र १८२० को कार्यान्वयन सम्बन्धमा दोश्रो राष्ट्रिय कार्ययोजना जिल्ला निर्देशक समितिको बैठक आइतबार सम्पन्न भएको छ।
सो निर्देशक समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले दोश्रो राष्ट्रीय कार्ययोजना मुताबिक जिल्ला निर्देशक समिति गठन गरिएको बताए।
उनले सोही मुताबिक पालिकामा समेत कार्ययोजनाका काम छिटोभन्दा छिटो अगाडी बढाइने उल्लेख गरे । प्रमुख पौडेलले समाजमा कुनै पनि किसिमका हिंसा ,भेदभाव ,र अधिकार उल्लंघनका घटना नदेखिने गरि काम गर्न सरोकारवालाहरूलाई आग्रह गर्दै हिंसा र भेदभाव रहित कास्की निर्माणमा लागी पर्न आग्रह गरे ।
उनले समाजमा कुनै पनि खालका उड्पिडन रहेसम्म समृद्धि सम्भव नहुने उल्लेख गर्दै हरेक खालका अधिकार स्थापित गर्न युद्धस्तरमा काम गर्नु पर्ने विचार राखे।
कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले कास्कीका हरेक स्थानीय तहमा समिति निर्माण गरेर कार्य सम्पादन गर्ने भन्दै सहकार्यको लागि सरोकारवाला संघसंस्थाहरूलार्इ आग्रह गरे ।
जिल्ला समन्वय समिति कास्कीका उप–प्रमुख सरिता माल , पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी, मानव अधिकारका लागि एकल महिला समूह कास्कीका अध्यक्ष जुना के . सी महिला मानव अधिकार रक्षक सन्जाल कास्कीका अध्यक्ष केशु भुजेल, एड्भोकेसी फोरमका अध्यक्ष कुन्जनी परियार प्यासी, गैर सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष डाक्टर बुद्धि बहादुर थापा, द्धन्द्ध पिडित महिला राष्ट्रिय संजाल सदस्य कल्पना सुवेदी सहितले मन्तव्य व्यक्त गरेका थिए ।
बैठकमा दोश्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनका विषयमा इन्सेक पोखराका प्रमुख शिव खकुरेल र संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको प्रस्ताव न १३२५ र १८२० को सन्दर्भिकता सम्बन्धमा इन्सेक पोखराका कार्यक्रम अधिकृत सबनम शर्माले सहजीकरण गरेका थिए ।
सो निर्देशक समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न बैठकको सञ्चालन समितिका सदस्य सचिव एवम् जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए ।












