न्यायाधीश डा.परशुराम भट्टराईले दिए राजीनामा

केन्द्रभाग मिडिया

काठमाडौँ ।

जिल्ला न्यायाधीश डा.परशुराम भट्टराईले न्यायाधीश पदबाट राजीनामा दिएका छन् । न्यायाधीश भट्टराईले माघ ५ गते शुक्रवार आफ्नो राजीनामा बुझाएका हुन् ।

लामो समयदेखि न्याय परिषद्मा तानिएका जिल्ला न्यायाधीश भट्टराईले अन्ततः राजीनामा दिएका हुन् । आफूमाथिको छानबिन पनि नसकिएको र जिम्मेवारी पनि नतोकिएको भन्दै न्यायाधीश डा।भट्टराईले शुक्रवार न्याय परिषद्मार्फत प्रधान न्यायाधीशसमक्ष राजीनामा बुझाएका हुन् ।

यसअघि न्याय परिषद्ले न्याय परिषद् तानिएका तीन न्यायाधीशमाथि विस्तृत छानबिनका लागि समिति गठन गरेको थियो । सर्वोच्च अदालतका न्यायाधीश डा।आनन्दमोहन भट्टराई नेतृत्वको समितिले विस्तृत छानबिन गरी न्याय परिषद्लाई आफ्नो प्रतिवेदन समेत दिइसकेको छ । यही बिचमा न्यायाधीश भट्टराईले आफ्नो पदबाट शुक्रवार राजीनामा दिएका हुन् ।

न्याय परिषद्मा परेका उजुरी र मुद्दामा मोलाहिजा, क्षमताको अभाव र बदनियत लगायतका विषयमा न्यायाधीशहरू अम्बिकाप्रसाद निरौला, डा।परशुराम भट्टराई र राजकुमार कोइरालामाथि विस्तृत छानबिनका समिति गठन गरेको थियो । छानबिनका लागि आनन्दमोहन भट्टराईको अध्यक्षतामा प्रकाशकुमार ढुङ्गाना र तिलप्रसाद श्रेष्ठ विज्ञ सदस्य रहने गरी समिति गठन गरिएको थियो ।

काठमाडौँ जिल्ला अदालतमा रहँदा न्यायाधीश अम्बिका निरौलाले बाबुराजा रावल अपहरण मुद्दाका प्रतिवादी भारतीय नागरिक भन्दै सफाइ दिएको तथा केही मुद्दामा मोलाहिजा गरेको आरोप लागेको थियो ।

  • ७ माघ २०८०, आईतवार १३:४४ प्रकाशित