स्याङ्जा ।
रुसमा ज्यान गुमाएका वालिङ नगरपालिका–१४, मान्खुका हरिप्रसाद अर्यालको कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ ।
रुसी सेनामा भर्ती भएका २३ वर्षीय अर्यालको मृत्यु भएको जानकारी पाएपछि परिवार शव आउने आशामा बसेको थियो । झन्डै दुई महिनासम्म पनि शव आउने सम्भावना नदेखेपछि परिवारले अन्तिम संस्कार गरेको हो ।
वालिङ नगरपालिका १४ का वडाध्यक्ष बोधराज कुँवर (राजु) ले परिवारले राम्दीस्थित कालीगण्डकी तटमा कुशको शव बनाएर अर्यालको अन्तिम संस्कार गरेको जानकारी दिए । परिवार शव आउँछ कि भन्ने आशामा बसेको थियो, त्यस्तो नभएपछि अन्तिम संस्कार र किरियाकर्म सुरु गरेको वडा अध्यक्ष कुँवरको भनाइ छ ।
परराष्ट्र मन्त्रालयले डिसेम्बर ३ मा घटना भएको भन्दै वडा कार्यालयमार्फत डिसेम्बर २८ मा परिवारलाई खबर गरेको थियो । नेपाली सेनामा भर्ती भएका अर्याल झन्डै तीन वर्षमा नै जागिर छोडेर दुबई हुँदै रुस पुगेका थिए। गत कात्तिक ३ गते दुबईबाट रुस पुगेका अर्यालको युद्धमा परेर ज्यान गएको हो ।
यसअघि स्याङ्जाको पुतलीबजार नगरपालिका–५ का प्रितम कार्कीको पनि शव नआएपछि परिवारले कुशको शव बनाई अन्तिम संस्कार गरेको थियो ।












