प्रतिनिधिबाटै १३ लाख उठाउँदै माओवादी केन्द्र

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा (माओवादी केन्द्र) ले विधान अधिवेशनका क्रममा प्रतिनिधिबाटै १३ लाख रुपैयाँ उठाउने लक्ष्य लिएको छ । माओवादीको आगामी फागुन १ देखि ३ गतेसम्म राजधानीको कमलादीमा हुने तय भएको विधान अधिवेशनमा प्रतिप्रतिनिधि १ हजारका दरले प्रवेश शुल्क लिने निर्णय भएको हो ।

विधान अधिवेशनमा केन्द्रीय सदस्यहरू, वैकल्पिक केन्द्रीय सदस्यहरू, केन्द्रीय सल्लाहकारहरू, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चका सदस्यहरू, केन्द्रीय आयोगका सदस्यहरू, प्रदेश समितिका पदाधिकारीहरू, जिल्ला संयोजकहरू, महानगरका अध्यक्षहरू, केन्द्रीय विभागका सचिवहरू, केन्द्रीय ज।व।स।रमोर्चाका प्रमुखहरू प्रतिनिधिहरू हुनेछन् ।

प्रतिनिधिहरूले हल प्रवेश गर्नुभन्दा पहिले आफूले बुझाउन बाँकी लेवी र प्रवेश शुल्क अनिवार्य रूपमा बुझाउनु पर्ने माओवादीको भनाइ छ । विधान अधिवेशनअघि माओवादीले तल्ला कमिटीहरूमा मस्यौदा विधान–२०८० माथि छलफल चलाउने जनाइएको छ । सो पार्टीले मातहतका कमिटीमा पठाएको सर्कुलरअनुसार वडा, पालिका, जिल्ला र प्रदेश स्तरमा मस्यौदा विधानमाथि माघ २१ गतेसम्म व्यापक छलफल चलाउने छ । त्यसपछि लिखित सुझाव केन्द्रीय कार्यालयमा माघ २४ गतेभित्र अनिवार्य रूपमा पठाउनु पर्ने माओवादीले जनाएको छ ।

  • ३ माघ २०८०, बुधबार १५:१४ प्रकाशित