नेताहरूलाई राष्ट्रपतिले भने : ‘जनतालाई अधिकार दिन ढिला हुँदा निराशा बढ्यो’

केन्द्रभाग मिडिया

काठमाडौँ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले गरेको व्यवस्था अनुसार कानुनहरू बनाएर जनतालाई अधिकार दिन ढिला हुँदा जनतामा निराशा बढेको भन्दै त्यसतर्फ राजनीतिक दलका नेताहरूको ध्यानाकर्षण गराएका छन् ।

माघी पर्वका अवसरमा लन्चसहित सबै दलका नेताहरूलाई शीतल निवासमा बोलाएर राष्ट्रपति पौडेलले संविधानले जनतालाई दिएको अधिकार बेजोड भए पनि कानुन बनाएर कार्यान्वयनमा लैजान ढिला भएकोमा जनमानसमा असन्तुष्टि र निराशा छाएको बताएका हुन् ।

‘संविधानले पिछडिएका, उत्पीडित र उपेक्षित वर्गलाई जे अधिकार दिएको छ त्यो कार्यान्वयनमा सार्थक हुनुपर्‍यो,’ शीतल निवासमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपतिले भने, ‘त्यसलाई हामीले व्यवहारमा उतार्नका लागि कानुनहरू बनाउनुपर्नेछ ।’

उनले दलका नेताहरूलाई कानुन बनाउन ध्यान दिन जोड दिँदै भने, ‘तपाई संसद्का मित्रहरू सबैले विशेष गरी ध्यान दिनुपर्ने विषय संविधानले जे परिकल्पना गर्‍यो,त्यसलाई कानुनद्वारा व्यवस्थित गर्ने आवश्यकता छ । ती कानुनहरूको निर्माण छिटोभन्दा छिटो हुन जरुरी छ भन्ने मलाई लागिरहेको छ ।’

उनले जनतालाई निराश नबनाउन विशेष आग्रह पनि गरे । ‘देशमा निराशा र इत्यादि कुराहरू आएका छन्–त्यो संविधान कार्यान्वयनको कमीले हो,’ उनले भने ।
म यहाँ आएपछि देशी विदेशी निकायका प्रतिनिधिहरूसँग मैले भेटेको छु । ती सबैले नेपालको अहिलेको संविधानलाई मुक्तकण्ठले स्वागत गरेका छन् । यसले तल्लोभन्दा तल्लो वर्गलाई दिएको अधिकार महिला, दलित, अल्पसङ्ख्यक, पिछडिएका दुर्गमवासी र गाउँका जनतालाई जो अधिकार प्रदान गरिएको छ यो बेजोड छ ।

  • १ माघ २०८०, सोमबार १५:३९ प्रकाशित