टाइगर कप भलिबल : महिलातर्फ एपीएफ र न्यु डायमन्ड क्लबको जित

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा आज सुरु भएको टाइगर कप भलिबलअन्तर्गत महिलाको पहिलो खेलमा एपीएफले पुलिस क्लबलाई हराएको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा एपीएफले पाँचौं सेटमा पुलिसलाई हराएको हो ।

एपीएफले पहिलेका दुवै सेट जितेको थियो । पहिलो सेट २५-१८ ले जितेको एपीएफले दोस्रो सेट पनि २५-१८ ले नै जितेको थियो । तर दुई निर्णायक सेटमा पुलिसले दुईपटक नै जित दर्ता गरेर एपीएफलाई रोक्यो ।

पुलिस तेस्रो सेटमा २५-१९ र चौथो सेटमा २५-१८ ले विजयी भयो । अन्तिम सेटको सुरुआतमा पनि पुलिसले अग्रता बनाएको थियो । एपीएफले कमब्याक गरेर १५-१३ को जित दर्ता गरेको हो । यो जितसँगै एपीएफले महत्त्वपूर्ण दुई अंक जोडेको छ ।

आजै भएको महिलाकै दोस्रो खेलमा भने त्रिभुवन आर्मी क्लब, न्यु डायमन्डसँग पराजित भएको छ । आर्मी ३-१ को सेटमा पराजित भएको हो । पहिलो सेट न्यु डायमन्डले २५-२० ले जितेको थियो । उसले दोस्रो सेटमा पनि आर्मीलाई २५(१७ ले पछि पार्यो । तेस्रो सेटमा पुनरागमन गरेको आर्मी २५-२३ ले विजयी भएको थियो । तर चौथो सेटमा न्यु डायमन्डले २५-१५ ले आर्मीलाई हरायो ।

प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ ६-६ टिम सहभागी छन् । लिग कम नकआउट शैलीमा भइरहेको प्रतियोगिताको फाइनल खेल माघ ६ गते हुनेछ । भारतको हरियाणा महिला भलिबल क्लब र श्रीलंका आर्मी पुरुष क्लब पनि प्रतियोगितामा सहभागी छन् ।

  • १ माघ २०८०, सोमबार १५:२५ प्रकाशित