पोखरा ।
२३ औं आहा ! रारा पोखरा गोल्डकपमा यसपाली १२ टिम सहभागी हुने भएका छन् ।
यहि माघ ९ गतेबाट २० गतेसम्म चल्ने प्रतियोगितामा १२ टिम सहभागी हुने आज पत्रकार सम्मेलनको आयोजना गरि आयोजक सहारा क्लबले जानकारी दिएको हो । यसअघि २२ औं आहा ! रारा गोल्डकपमा १० टिमको सहभागीता रहेको थियो ।
नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, जावलाखेल युथ क्लब,मनाङ मर्स्याङदी क्लब,मछिन्द्र क्लब,राईजिंग स्टार फुटबल क्लब नवलपुर,दिल्ली फुटबल क्लब इन्डिया, पारो फुटबल क्लब भुटान, संकटा क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब,थ्री स्टार क्लब र आयोजक सहारा क्लब पोखरा प्रतियोगितामा सहभागी हुनेछन् ।
यसपाली विजेता र उपविजेतालाई साविककै पुरस्कार रकम कायम गरिएको पत्रकार सम्मेलनमा बताइयो । जस अनुसार प्रतियोगिताको विजेताले १२ र उपविजेताले ६ लाख प्राप्त गर्नेछन् ।
हिमश्री फुड्सको मुख्य प्रायोजन रहेको आरा रारा गोल्डकपमा उत्कृष्ट पाँच विधाको पुरस्कार सुर्य बहादुर के.सी.को स्मृतिमा प्रायोजन हुने भएको छ भने राष्ट्रिय सर्वोत्कृष्ट वर्ष खेलाडी पुरस्कार सहारा क्लबका मानार्थ सदस्य खेम बहादुर गुरुङले प्रायोजन गर्ने बताइएको छ ।
म्यान अफ द म्याच ट्रफी, नगद र मेडलहरु सहारा यु.के.ले प्रायोजन गर्ने भएको छ । प्रतियोगिताबाट १ करोड ८६ लाख ७५ हजार रुपैया कुल आम्दानी हुने अनुमान आयोजकको छ भने १ करोड ४९ लाख ३ हजार रुपैयाँ खर्च हुने भएको छ ।
‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने उद्येश्यका सहारा क्लबले आहा रारा गोल्डकपको आयोजना गर्दै आएको छ ।
पत्रकार सम्मेलनमा मुख्य प्रायोजक हिमश्री फूड्स प्रालिका निर्देशक किरण के.सी.ले २३ औं आहा रारा गोल्डकप प्रतियोगिता भव्य रूपमा सफल हुने अपेक्षा व्यक्त गरे ।
२३ वर्ष देखी निरन्तर सञ्चालन भएको यस प्रतियोगितामा वचत हुन आएको रकम क्लबबाट संचालित सुर्य बहादुर के. सी. स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ । विगत २०६१ साल देखि आवासिय रुपमा निःशुल्क स्वास्थ्य,’ , शिक्षा दिक्षा लगायत फुटबल प्रशिक्षण समेत सहारा फुटबल एकेडेमी गण्डकी प्रदेश, पोखरा–१७, दोविल्लामा प्रदान गर्दै आईरहेको छ । हाल चौंथो व्याचको एकेडेमीमा ८ जिल्लाका १४ जना बालकहरु आश्रित छन ।