एमालेको नबौं महाधिवेशनमा गण्डकीलाई एउटा मात्र पदाधिकारी, १० औंमा कति ? यि हुन् आकांक्षी

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमालेको नबौं महाधिवेशनमा गण्डकी प्रदेशबाट जम्मा पदाधिकारीका लागि दुई नेताले मात्र उम्मेद्वारी दिएका थिए । उपाध्यक्षमा उम्मेद्वारी दिएका किरण गुरुङले पराजय बेहोरे । सचिवमा उमेद्वारी दिएका पृथ्वी सुब्बा गुरुङ बिजयीमात्र भएनन्, गण्डकीको भूगोलबाट राजनीति गर्ने एमालेका नेताहरु मध्ये उनले पहिलो पटक पदाधिकारीमा अट्ने इतिहास रचे ।

यस अगाडि कसैले एमालेमा गण्डकी प्रदेशको भूगोलमा राजनीति गर्ने कुनै नेताले एमालेमा पदाधिकारीको भूमिका नपाएको गण्डकी प्रदेशको मुख्यमन्त्री समेत भइसकेका पृथ्वी सुब्बा गुरुङ बताउँछन् । ‘हो, यस अगाडि गण्डकीबाट कोही पनि पदाधिकारी बनेका थिएनन् । त्यो इतिहास रच्ने अवसर मलाई प्राप्त भयो’ उनले भने, ‘मैले पाएको जिम्मेवारी राम्रोसंग निर्बाह गरेको छु । गण्डकीले गौरब गर्ने नै बनाएको छु । अरु कोही पदाधिकारीले भन्दा मैले राम्रो गरेर देखाएको छु’

देशको जन अनुमोदित सबैभन्दा ठूलो दल नेकपा एमालेमा गण्डकी प्रदेश आफैमा अध्यक्ष केपी शर्मा ओलीको पकेट क्षेत्र मानिन्छ । एमाले विभाजन हुँदा प्रतिनिधिसभामा प्रत्येक्ष निर्वाचित एक जना सांसद तनहुँका किसान श्रेष्ठ बाहेक अरु संघ र प्रदेशका सांसद एमालेकै तत्कालिन वरिष्ट नेता माधव नेपालले निर्माण गरेको नेकपा एकीकृत समाजवादी तर्फ लागेनन् । यसले पनि एमाले अध्यक्ष ओलीको पकेट क्षेत्रको रुपमा गण्डकी रहेको पुष्टि गर्छ ।

यस अगाडि एक जना मात्र पदाधिकारी प्राप्त गर्न सफल गण्डकीका एमाले नेताहरुले १० औं अधिवेशनमा कस्तो स्थान पाउलान भन्ने जिज्ञासा एमाले नेता कार्यकर्तालाई मात्र होइन, अरु राजनीतिक दल र सचेत नागरिकलाई पनि रहेको छ ।

गण्डकी प्रदेशको भूगोलमा राजनीति गर्ने नेताहरु मध्ये १० औं महाधिवेशनमा पदाधिकारीका लागि किरण गुरुङ, पृथ्वी सुब्बा गुरुङ, खगराज अधिकारी र पद्मा अर्यालले पदाधिकारीमा अपेक्षा गरेका छन् । एमाले गण्डकीका संयोजक समेत रहेका किरणले केन्द्रीय उपाध्यक्षमा पुन उम्मेद्वारी दिने बताएका छन् ।

पृथ्वी सुब्बा गुरुङले महासचिव भएर काम गर्ने इच्छा देखाएका छन् । यस क्षेत्रमा राम्रै प्रभाव रहेका खगराज अधिकारी पनि यसपाली पदाधिकारीमा उठ्ने बताइरहेका छन् । हाल केन्द्रिय सदस्य रहेकी महिला नेतृ पद्मा अर्याल पनि यसपाली पदाधिकारीमा जानेबारे नै आफू छलफलमा रहेको बताउँछिन् ।

संघीय सरकारका पूर्व मन्त्री, गण्डकी प्रदेशमा मुख्यमन्त्री र पार्टीमा हाल सचिव रहेका पृथ्वी सुब्बा आफ्नो अकांक्षा सचिव भन्दा माथि रहनु स्वभाविक बताउँछन् । ‘सचिव भएर काम गरिसकेको छु । पार्टीमा महासचिव भएर हाक्ने इच्छा हो । त्यहाँभन्दा तल हुने कुरा भएन’ उनले भने ।

संघीय सरकारमा पूर्वमन्त्री, गण्डकी प्रदेशमा पूर्वअर्थमन्त्री र हाल एमाले गण्डकी प्रदेश संयोजक किरण गुरुङ पनि उपाध्यक्ष पदका दाबेदार हुन् । उनले अघिलो पटक उपाध्यक्षमा पराजित भएकाले सोही पदमा आफूले आकांक्षा राखेको प्रष्ट्याएका छन् । ‘मैले नबौं महाधिवेशनमा पनि उपाध्यक्ष पदमा प्रतिस्पर्धा गरेको हुँ । अहिलेपनि स्वभाविकरुपमा मेरो दाबी हुन्छ नै’ उनले भने । भूगोलको हिसावले पनि र पार्टीमा दिएको योगदानका हिसावले पनि आफ्नोे उपाध्यक्षमा दाबी स्वभाविक हो रहेको उनको भनाई छ ।

पूर्वमन्त्री रहेर काम गरेकी, एमाले स्याङ्जाको नेतृत्व गर्दै हाल केन्द्रीय कमिटी सदस्य एवं महिला नेतृ पद्मा अर्यालले पनि पार्टीको पदाधिकारीमै अपेक्षा गरेकी छन् । आफ्नो अपेक्षा सचिवमा रहेको उनले खुलाएकी छन् । उनले पदाधिकारीमा आफ्नो दाबी स्वभाविक रहेको प्रतिक्रिया दिइन् ।

पूर्वमन्त्री, हाल एमाले केन्द्रीय कमिटी सदस्य रहेका गण्डकीमा प्रभासाली नेता मानिने अर्का नेता खगराज अधिकारीले पनि आफ्नो दाबी पदाधिकारीमै हुने यसअघि नै सार्वजनिक गरेका छन् ।

नबौं महाधिवेशनमा दुईजनाले आकांक्षा राखेर एउटा मात्र पदाधिकारी भित्र्याएका एमाले गण्डकीका नेताहरु बढेर अहिले पदाधिकारीमा आकांक्षा राख्ने चार जना पुगेका छन् । गुटरहित बताइएको एमालेमा पदाधिकारीका आकांक्षी धेरै छन् ।

धेरै आकांक्षी मध्ये आफ्नो पकेट क्षेत्र मानिएको गण्डकीलाई अध्यक्ष केपी शर्मा ओलीले कत्तिको महत्व दिन्छ भन्ने कुरा पनि यो महाधिवेशनले देखाउने र कम्तिमा दुईवटा पदाधिकारी गण्डकी प्रदेशले पाउने पदाधिकारी अकांक्षा राख्ने चार मध्यका एक नेताले बताए ।

 

  • ८ मंसिर २०७८, बुधबार ११:११ प्रकाशित