पोखरा ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले वर्तमान संविधान संसोधन गरेरै राजतन्त्र फर्काउन सकिने बताएका छन् । राप्रपा नेपाल कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । बर्तमान संविधानमा केही राम्रा पक्ष भएकाले यसलाई संसोधन गरेर राजा अटाउने अनि संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र हटाउने उनको भनाई छ । दलहरु तयार भए संविधान संसोधन मार्फत राजा फर्काउन, संघीयता र गणतन्त्र फाल्न सकिने उनले धारणा राखे ।
जनमत लिएर गणतन्त्र ल्याउन पाउने, संघीयता र धर्मनिरपेक्षता हटाउन पाउने व्यवस्था संविधानमा छ । त्यसैले यो संविधान बदल्न पर्दैन । दलहरु तयार भए यसैलाई संसोधन गरेर राजादेखि सबै अटाउने अनि संघीयता र धर्मनिरपेक्षता हटाउन कठिन छैन’ उनले भने ।
अध्यक्ष थापाले अहिलेको व्यवस्था नै खराब हो भन्दै यो व्यवस्थामा जो सरकारमा गएपनि केहि गर्न नसक्ने टिप्पणी गरे । ‘यो व्यवस्था नै खराव छ । व्यवस्थामा जो सरकारमा गएपनि केही गर्न सक्दैन’ उनले भने । नेपालमा अभिभावक चाहिएको चर्चा गरेका उनले अहिले अभिभावकविहीन भएको र यसका कारण शक्ति राष्ट्रसामु नेपाल निरीह हुनेगरेको उनको टिप्पणी थियो ।
अध्यक्ष थापाले अबको व्यवस्था राजतन्त्रसहितको हुनुपर्ने र त्यसमा दलदेखि राजासम्म अटाउनुपर्ने उनको सर्त छ । ‘संवैधानिक राजा भएको तर कार्यकारी प्रधानमन्त्री हुने व्यवस्था उपयुक्त हुन्छ ।’ उनले भने, ‘त्यसमा दुई पटक भन्दा बढी प्रधानमन्त्री हुन नपाईने, सांसद नभएकोपनि मन्त्री हुन पाउने व्यवस्था राम्रो हुन्छ ।’
फरक प्रसंगमा उनले राजावादी देखिन राजासँगको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ननपर्ने बताए । राप्रपाका नेताहरुले ज्ञानेन्द्र शाहसँगको भेटको तस्बिर सामाजिक सञ्जालमा हालेकोप्रति व्यंग्य गर्दै उनले भने,‘राजावादी देखिन राजासँगको भेटको तस्बिर पोष्ट गर्न जरुरी छैन ।’
भन्दै