काठमाडौं ।
एमाले महाधिवेशनमा सहभागी हुने पाहुनाका लागि सेल्फी प्वाइन्ट बनाउन लागिएको छ ।
एमालेको १०औँ महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा २५ स्थानमा सेल्फी प्वाइन्ट बनाउन लागिएको हो ।
एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठका अनुसार चितवनतर्फ २१ र गैँडाकोटतर्फ चार सेल्फी प्वाइन्ट रहनेछन् । उनले भने, ‘मञ्चको दायाँ भागमा एमालेको झण्डा बोकेको गैँडा निर्माण गरिने छ ।’ त्यसको केही मिटरको फरकमा मजदुरले उचाल्दै गरेको पृथ्वी राखिने छ । उनका अनुसार यी दुई स्थायी संरचना निर्माणका लागि करिब पाँच लाख खर्च हुने अनुमान गरिएको छ ।
महाधिवेशन उद्घाटनस्थललाई थप आकर्षक बनाउनका लागि अन्य २३ ठाउँमा एमालेको प्रचारप्रसार गर्ने खालका तस्वीर राखिने भएको छ । मदन भण्डारी, भिआई लेनिनका तस्वीर पनि सेल्फी प्वाइन्टमा राख्ने व्यवस्था गरिएको श्रेष्ठले बताए । मजदुरले उचालेको पृथ्वी बनाउनको लागि रु चार लाख खर्च हुने अनुमान गरिएको छ ।
यस्तै एमालेको १०औँ महाधिवेशनको लोगो गैँडाले एमालेको झण्डा उठाएको प्रतिमा निर्माणका लागि एक लाख खर्च हुने बताइएको छ ।