प्रधानमन्त्री शाहको स्पष्टोक्ति : भने,‘म सङ्घीयता विरोधी होइन’

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले आफू सङ्घीयता पक्षधर भएको स्पष्ट पारेका छन् ।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोशी र मधेस प्रदेशमा पछिल्लो समय विकसित भएका साम्प्रदायिक घटना, शान्ति सुरक्षा र सङ्घीयताको कार्यान्वयनका विषयलाई लिएर मधेस केन्द्रित दलका नेताहरूसँगको छलफलमा उनले यस्तो बताएका हुन् ।

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री बालेनले आफूलाई सङ्घीयता विरोधीको रूपमा नलिन आग्रह गर्दै सपनामा पनि आफू सङ्घीयता विरुद्ध नरहेको स्पष्ट पारेको बताए । ‘सपनामा पनि नसोच्नुहोला, म सङ्घीयता विरोधी होइन । पार्टी पनि होइनु, ‘बालेनको भनाइ उद्धृत गर्दै महतोले भने ।

प्रधानमन्त्रीले विगतमा आफूले बोलेको ुबलगरु सङ्घीयताको अर्थ यसलाई अझ बलियो र अधिकारसम्पन्न बनाउने रहेको स्पष्ट पार्दै सङ्घीयताको संरचनागत परिवर्तन र अधिकारको बाँडफाँटमा जोड दिएको महतोको भनाइ थियो । आफू सङ्घीयतालाई कुनै पनि हालतमा कमजोर हुन नदिने पक्षमा रहेको र यसलाई कसरी समावेशी बनाउने भन्नेमा चिन्तित रहेको प्रधानमन्त्रीको भनाइ थियो ।

सो क्रममा सुनसरी र सिराहामा भएका पछिल्ला घटनाप्रति गम्भीर बन्न मधेसी नेताहरूले सरकारको ध्यानाकर्षण गराएका थिए । महतोले सरकारको सुरक्षा संयन्त्रले समयमा काम नगरेको र गृहमन्त्री घटना स्थलमा ढिलो गरी पुगेको भन्दै आलोचना गरे ।

साम्प्रदायिक दङ्गा नियन्त्रणका लागि प्रधानमन्त्री कार्यालयमा नै स्थायी रूपमा ‘र्‍याड्स टिम’गठन गर्नुपर्ने र कुनै पनि अप्रिय घटना भएमा त्यसको तीन घण्टाभित्रै वार्ता र व्यवस्थापनमार्फत समाधान खोजिनुपर्ने सुझाव दिइएको उनले बताए।

झन्डै साढे दुई घण्टा चलेको उक्त छलफलमा प्रधानमन्त्रीले मधेस र कोसीको शान्ति सुरक्षा कायम राख्न सरकारले ठोस कदम चाल्ने र सबै पक्षलाई सौहार्दपूर्ण वातावरण कायम राख्न अपिल समेत गरेको बताइएको छ ।

  • १५ श्रावण २०८३, शुक्रबार १५:३० प्रकाशित