पोखरा ।
राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारहरूविरुद्ध दाबी विरोध तथा उजुरी दिने समय आज (मंगलबार) का लागि तोकिएको छ । आगामी ११ माघमा १९ सदस्यका लागि हुने निर्वाचनका लागि आइतबार ५२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
उनीहरूविरुद्ध कुनै दाबी विरोध वा उजुरी भए आज दिन सकिने निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारहरूविरुद्ध परेका उजुरीबारे यही २५ र २६ पुसमा जाँचबुझ गरी आयोगले उम्मेदवारको नामावली प्रकाशन गर्नेछ ।
यसपछि नाम फिर्ता लिन चाहने उम्मेदवारले २७ पुसमा आफ्नो नाम फिर्ता लिन सक्नेछन्। सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि आयोगले पुस २८ गते चुनाव चिह्न दिनेछ । यसपछि माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदानको कार्यक्रम छ । राष्ट्रिय सभा निर्वाचनका लागि २ हजार ४७ मतदाता छन् ।