कांग्रेस गण्डकी प्रदेश सभापतिमा कास्कीका तीन नेताको दाबी

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेसले आफ्नो १० औं महाधिवेशन मार्फत संघीयतालाई आत्मसाथ गर्दैछ । कांग्रेसमा हालसम्म प्रदेश संरचना थिएन । नयाँ संरचना प्रदेशको नेतृत्वमा कांग्रेसका नेताहरुको हानथाप हुने देखिएको छ ।

गण्डकी प्रदेश समिति सभापतिका लागि कास्कीबाट मात्रै तीन जनाले आफ्ना आकांक्षा सार्वजनिक गरेका छन् । कांग्रेसका पुराना नेता शुक्रराज शर्मा, पूर्व मन्त्री यज्ञबहादुर थापा र बौद्धिक नेता देवराज चालिसेले आफू प्रदेश सभापतिमा उठ्ने जानकारी दिएका हुन् ।

लामो समय कास्की कांग्रेसको नेतृत्व गरेका एवं केन्द्रीय आमन्त्रित सदस्य समेत भइसकेका शर्माले आफू प्रदेश सभापतिमा उठ्ने केन्द्र खवरलाई जानकारी दिए । आफ्नो राजनीतिका बारेमा तमाम नेता कार्यकर्ता जानकार रहेको र आफू नै प्रदेश सभापति बन्ने उनको भनाई छ । ‘अरु मलाई थाहा भएन । म प्रदेशको सभापति लड्छु । मेरो योगदान र राजनीतिक निष्ठाको बारेमा सबै जानकार हुनुहुन्छ । मलाई प्रदेश सभापति बनाउनुहुन्छ; उनले भने ।

नेपाली कांग्रेस कास्कीका पूर्व सभापति एवं पूर्व मन्त्री यज्ञबहादुर थापाले पनि आफू गण्डकी प्रदेशको सभापति बन्ने जानकारी दिए । केन्द्र खवरले तपाई केन्द्रीय सदस्यमा उठ्ने हो भन्दै राखेको जिज्ञासामा उनले भने, ‘म प्रदेशको सभापति बन्ने हो । प्रदेश संरचनालाई बलियो बनाउनुपर्ने छ । प्रदेशमा कांग्रेसलाई बलियो बनाउन मैले प्रदेशको नेतृत्व गर्ने चाहना राखेको छु’

त्रिभूवन विश्वविद्यालय स्ववियु सभापति भइसकेका देबराज चालिसेले विश्वविद्यालयको स्थायी प्राध्यापकबाट रानिनामा दिएर गत निर्वाचनमा कास्की क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसको तर्फबाट उम्मेद्वारी दिएका थिए ।

उनले बैचारिक र सांगठिनक रुपमा चलायमान कांग्रेस बनाउन आफूले प्रदेश सभापतिमा उम्मेद्वारी दिने जानकारी दिए । ‘बैचारिक रुपमा स्पष्ट कांग्रेस र सांगठनिक रुपमा मजबुद कांग्रेस बनाउन मैले उम्मेद्वारी दिने निधो गरेको छु’ उनले केन्द्र खबरसंग भने ।

नेता चालिसेले आज नै पत्रकार भेटघाट कार्यक्रम माफैत उम्मेद्वारी सार्वजनिक गर्दैछन् । नेपाली कांग्रेसको जिल्ला अधिवेशन १० मंसिरमा र प्रदेश अधिवेशन १६–१७ मंसिरमा हुँदै छ ।

 

 

  • ८ मंसिर २०७८, बुधबार ०७:५९ प्रकाशित