राष्ट्रियसभा निर्वाचनमा गठबन्धन दल

१९ सदस्यका लागि निर्वाचन हुँदै, दाबी २८ सिटको !

केन्द्रभाग मिडिया

 

 

काठमाडौं । यही ११ माघमा १९ सदस्यका लागि राष्ट्रियसभा निर्वाचन हुँदैछ । यो निर्वाचनमा मिलेर चुनाव लड्ने समझदारी गरेका सत्ता गठबन्धनका दलहरुले सिट संख्या भन्दा धेरै संख्यामा दाबी गरेका छन् ।

स्रोतका अनुसार गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले १९ मध्य १३ सिट आफूले पाउनुपर्ने दाबी गरेको छ । सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रले ७ सिट आफूले पाउनुपर्ने बताएको छ भने, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले ४÷४ सिटका लागि दाबी गरेका छन् ।

शनिबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले आफ्नो दलले पाउनुपर्ने सिट संख्या दाबी गरेका हुन् ।

‘अहिलेको बैठकमा आआफ्नो दाबी पेश गर्ने काम भयो, अब दिउँसो ४ बजे चार दलको र ५ बजे सरकारमा सहभागी अन्य दलसहितको बैठक बस्छ’, स्रोतले भन्यो, ‘आजै, नभए भोलिसम्म कुरा मिल्न सक्छ ।’

११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि २३ पुसमा उम्मेदवारी मनोनयनको कार्यतालिका छ ।

नेपाली कांग्रेसका नेता रमेश लेखकका अनुसार राष्ट्रियसभामा अहिले अवधि सकिएका सदस्य संख्या, प्रदेशगत रुपमा दलहरुको मतभार आदिका आधारमा सिट संख्या तय हुनेछ ।

  • २१ पुष २०८०, शनिबार १५:०६ प्रकाशित