भारतीय दूतावासलाई २० करोड खर्च गर्न दिने सम्झौता राष्ट्रियता विरोधी : झलनाथ खनाल

केन्द्रभाग मिडिया

File Photo

काठमाडौं ।

पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालस्थित भारतीय राजदूतावासलाई सोझै २० करोडका योजना लागू गर्न दिने सम्झौताको विरोध गरेका छन् । यो सम्झौता नेपाली जनताको सार्वभौमिकता र सार्वभौम अधिकार माथिको खेलवाड भएको पूर्वप्रधानमन्त्री खनालको ठहर छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा बिहीबार काठमाडौंस्थित भारतीय दूतावासले सिधै २० करोडका योजनामा खर्च गर्न पाउने सम्झौता भएको थियो ।

त्यसप्रति असहमत खनालले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘विदेशी राजदूतावासलाई सोझै २० करोडका योजनाहरू लागू गर्न दिने अकल्पनीय राष्ट्रियता विरोधी सम्झौता गर्न पुगेको छ । यो लापरवाहीपूर्ण र राष्ट्रहित विरोधी सम्झौता मात्र होइन, यो नेपाल र नेपाली जनताको सार्वभौमिकता र सार्वभौम अधिकार माथि नै खेलबाड समेत हो । म यस सम्झौताको सम्पूर्ण देशभक्त नेपाली जनताको तर्फबाट कडा शब्दमा विरोध गर्न चाहन्छु ।’

यो सम्झौता एउटा सार्वभौम सत्ता सम्पन्न र स्वतन्त्र राष्ट्रका निम्ति यो लज्जाजनक र राष्ट्रिय हित विरोधी सम्झौता भएको खनालले उल्लेख गरेका छन् ।

  • २० पुष २०८०, शुक्रबार १०:४४ प्रकाशित