मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी : १७ जना पक्राउ

केन्द्रभाग मिडिया

ललितपुरको ग्वार्कोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने सरकारी गाडीमा आगजनी भएको छ । आगजनी गरेको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ।

आन्दोलित इपिएस परीक्षार्थीहरूहरूले मन्त्री ज्वालाको गाडीमा आगजनी गरेपछि स्थिति तनावग्रस्त बनेको हो। घटनास्थलबाट १७ जनालाई पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतले बताए।

उनकाअनुसार प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको छ। प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए।प्रहरीले हवाइफायर र अश्रुग्यास प्रहार गरेको हो।

अहिले ग्वार्को-बालकुमारी क्षेत्रमा प्रहरीले प्रदर्शनकारीलाई पक्राउ गरिरहेको छ।मन्त्री ज्वालाले प्रयोग गर्ने बा २ झ ५८६१ नम्बरको सरकारी गाडीमा आगजनी भएको थियो। मन्त्रीको गाडीमा तोडफोडसँगै सार्वजनिक बसमा पनि प्रदर्शनकारीले तोडफोड गरेका छन्।

शुक्रवार सिंहदरबारस्थित मन्त्रालयबाट ज्वाला ललितपुरमा जारी नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकमा भाग लिन गएका थिए ।

मन्त्री ज्वाला बैठकस्थलमा ओर्लिएपछि गाडी सिंहदरबार फर्किने क्रममा रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फाराम भर्न नपाएको भन्दै आन्दोलनमा उत्रिएका युवाहरुले गाडीमा आगो लगाएर ध्वस्त पारेका थिए । उनले आफूलाई चालकले छोडेर सिंहदरबार फर्कने बेला आगजनी भएको  बताए ।
  • १३ पुष २०८०, शुक्रबार १४:१४ प्रकाशित