पोखरा ।
अंग्रेजी नयाँ वर्षको अवसरमा पोखराको लेकसाइडमा हुने सडक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
पौष १२ गते देखि १६ गते सम्म हुन लागेको २५ औं सडक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको रेष्टुरेण्ट एण्ड बार एशोसियशन रेवान पोखराले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा सडक महोत्सवमा रहने कार्यक्रमको बारेमा जानकारी दिइएको थियो ।महोत्सव आयोजना हुने लेकसाइडको ३ किलोमिटर क्षेत्रअन्तर्गत अम्मट, गौरीघाट, हल्लनचोक र खहरेमा गरि ४ वटा स्थानमा स्टेज बनाइने आयोजकले जानकारी दियो ।
महोसत्सवको मुख्य आर्कषणमा लाइभ ब्यान्ड कन्सर्ट, लाइभ लोक दोहोरी, विभिन्न खेलकुद प्रतियोगिता, विविध जातिका साँस्कृतिक तथा भेषभुष प्रर्दशनी कार्यक्रम रहने भएको छ ।
महोत्सवमा पुस १३ गते लाइभ ब्यान्ड तर्फ दिपक बर्जाचार्य, १४ गते मुक्ति एन्ड रिभाइभल, लक्ष्य ब्यान्ड, १५ गते(न्यु इयरको रात) द एलिमेन्ट्स र लाहुरेले स्टेज तताउने आयोजकले जानकारी दिएको छ ।
यस्तै लोक दोहोरी तर्फ पुस १२ गते प्रजापति पराजुली, १३ गते प्रिती आले, १४ गते पशुपति शर्मा र १५ गते बद्री पंगेनी र पुरुषोत्तम न्यौपानेले आफ्नो प्रस्तुति दिनेछन् ।
साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुष प्रर्दशनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गित प्रतियोगिता, झाँकी प्रदर्शन हुने आयोजकले बताएको छ ।
चितवनबाट थारुहरुको भेषभुषसहितको थारु स्टिक नाच, सिन्धुलीबाट महिलाहरुको पञ्चेवाजा, रुकुमबाट मयुर नृत्य, शसस्त्र प्रहरी ब्यान्ड बाजा, नेवारको लाखे नृत्य,राइ लिम्बुको धान जातीको धान नाच,कौडा नाँच,सांस्कृतिक कार्यक्रम आयोना हुने भएको छ ।
यस्तै बोट रेस, वेटर रेस, टग अफ वार, भलिबल प्रतियोगिता, सचेतना मुलक सडक नाटक, सेल्फी फोटो वुथ महोत्सवको आर्कषणको रुपमा रहने छ ।
यस्तै पोखरा सेरोफेरोको स्थानीय उत्पादीत हस्तकला, चित्रकला, मुर्तिकला तथा कृषि, वनस्पती लगायतका कृषि उपजहरुलाई प्राथमिकता साथ प्रदर्शनीको व्यवस्था गरिने, वालवालिकाहरुका लागि चित्रकला, मःम, ससेज खाने प्रतियोगिता गरिने भएको छ ।
कुक, वार मेन प्रतियोगिता र पोखराका विभिन्न साहसिक खेलकुदहरुको डकुमेन्ट्री प्रर्दशनका साथै पर्यटकीय गन्त्व्यको प्रर्वद्धन गरिने आयोजकले बताएको छ ।
महोत्सवबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा रेवान पोखराका अध्यक्ष नरेश बहादुर भट्टराई, पोखरा पर्यटन गण्डकी कार्यालय प्रमुख नवीन पोखरेल, पर्यटन परिषद पोखराका अध्यक्ष पोमनारायण श्रेष्ठले आफ्ना भनाई राखेका थिए भने उपाध्यक्ष विश्वराज पौडेलले स्वागत मन्त्यव्य राखेका थिए ।
महोत्सवको मुख्य प्रायोजकमा गोर्खा ब्रअरी प्रालिको टुवोर्ग वियर र द नेपाल डिष्ट्रीलरी प्रालिको नुड भुड्का रहेको छ भने प्रायोजकमा खुकुरी रम रहेको छ ।
प्रर्वद्धकमा नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका , गण्डकी प्रदेश सरकार र पोखरा पर्यटन परिषद रहेका छन् ।हरेक वर्षको अङ्गग्रेजी नयाँ वर्षको अवसरमा रेष्टुरेण्ट एण्ड बार एशोसियशन रेवान पोखराले ‘सडकमै खाउँ, सडकमै रमाउ’ भन्ने नारासहित सडक महोत्सव आयोजना गर्दै आइरहेको छ ।
महोत्सवको रजतजयन्ती भएकाले यसपाली सडक महोत्सवलाई विगतका वर्षहरुमा भन्दा धुमधामसहित विशेष रुपमा सञ्चालन गरिने आयोजकले बताएको छ ।















