टेवानको छैटौं वार्षिक साधारणसभा सम्पन्न

केन्द्रभाग मिडिया

पोखरा ।
पर्यटन व्यवसायी महिला संघ (टेवान) ले आफ्नो छैटौं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न गरेको छ ।

साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारकी उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल (तिवारी) ले सरकारको प्राथमिकतामा पर्यटन रहेको बताइन् ।  प्रदेशको आर्थिक समृद्धिको प्रमुख आधार पर्यटन भएको भन्दै पर्यटन प्रवद्र्धनमा महिलाहरुको महत्वपूण भूमिका रहेको बताइन् ।

पर्यटन व्यवसायलाई व्यवस्थित गर्दै अधिकतम पर्यटक ल्याउने तबरबाट लाग्नुु जरुरी रहेको भन्दै उनले प्राकृतिक सौन्दर्यतालाई जोगाउँदै त्यसको उपयोग गर्नुपर्ने धारणा राखिन् ।

गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले प्राकृतिक सौन्दर्यताका कारण पोखराको पर्यटन विश्वमाझ परिचत भएको बताउँदै यसको संरक्षणलाई पनि प्राथमिकतामा राख्नुुपर्ने धारणा राखे । पर्यटकीय क्षेत्रको विकासले आर्थिक समृद्धिसँगै रोजगारी अभिबृद्धिमा महत्वपूर्ण टेवा पुुग्ने उनको भनाई थियो।

टेवानका सल्लाहकार बोबरजंग गुरुङले पर्यटन क्षेत्रको पवद्र्धनमा टेवानले खेलेको भूमिकाको प्रशंसा गरे । उनले महिला पर्यटन व्यवसायीहरु संगठित भएर गरेको कार्यको प्रशंसा गरे ।

टेवानका अध्यक्ष कमला गिरीको अध्यक्षतामा सम्पनन कार्यक्रममा महासचिव अनिता खड्का भट्टराई, उपाध्यक्ष प्रभा सुवेदी, पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमल्सिना(पगेनी), जिल्ला अध्यक्ष बिमला भण्डारी, संगीता बराल लगायतले उद्घाटन सत्रमा बोलेका थिए ।

साधारणसभाले महासचिव अनिता खड्का भट्टराईले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष कमला गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

  • ७ पुष २०८०, शनिबार १२:३५ प्रकाशित