जाउँ है पोखरा अभियान

सुदूरपश्चिमबाट पोखरा जान चाहने पर्यटकलाई पहिला काठमाडौं पुग्नै पर्ने बाध्यता !

केन्द्रभाग मिडिया

महेन्द्रनगर ।
महेन्द्रनगरको सिद्धार्थ होटलमा आउने भारतीय पर्यटक सिधा हवाई उडान मार्फत पोखरा जान चाहन्छन् । तर, पोखराका लागि सिधा हवाई उडान नहुने र काठमाडौं गएर मात्र पोखरा जानुपर्ने जानकारी पाएपछि खिन्न हुन्छन् ।

सडक मार्ग पनि राम्रो नहुँदा पोखरा जान खोज्ने पर्यटकलाई चित्त बुझाउन नसकिएको उक्त होटलका सञ्चालक परमानन्द भण्डारी गुनासो गर्छन् । उनीमात्र होइन यहाँका अधिकांस होटल व्यवसायी, ट्राभल एजेन्सी सञ्चालक र अन्य पर्यटन सम्बद्ध व्यवसायीको साझा गुनासो हो यो ।

होटल संघ पोखरा र पर्यटन वोर्ड गण्डकी प्रदेशको आयोजनामा भएको जाउँ है पोखरा अभियान अन्तर्गत महेन्द्रनगरमा सोमबार साँझ आयोजित पत्रकार भेटघाट एवं अन्तरक्रिया कार्यक्रममा सहभागी भण्डारीहित अधिकांस व्यवसायीले यस्तो गुनासो गरेका हुन् ।

कार्यक्रममा बोल्दै भिमदत्त नगरपालिकाकाका प्रमुख पदम बोगटीले सुदूरपश्चिम वर्दिया, सुक्ला फाँटा र खप्तडलाई एकीकृत रुपमा प्रर्वद्धन गर्ने योजना रहेको जानकारी दिए । धनगढीबाट पोखरा सीधा उडानका लागि स्थानीय र प्रदेश सरकारले नै सहकार्य गरेर वातावरण बनाउने अनि केन्द्र सरकारलाई दबाब दिने बताए ।

विदेशी पर्यटकलाई लुट्नुपर्छ जस्तो नीतिले पर्यटन नचल्ने भन्दै उनले केन्द्र सरकारले नीतिमै सुधार ल्याउनुपर्नेमा जोड दिए ।

वेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहोराले हवाई उडानबाट पोखरा जाँदा काठमाडौं हुँदै जानुपर्ने बाध्यता रहँदा समस्या रहेको धारणा राखे । उनले पोखरासंगको कनेक्टिभिटी सहज हुनुपर्नेमा जोड दिए ।

पर्यटकीय राजधानी मानिने पोखरामा समेत समस्या छ भने अन्यत्रको अवस्था कस्तो होला भन्ने सहज अनुमान गर्नसकिने उनको भनाई छ । पर्यटकीय सम्भावना प्रचुर रहेको सुदूरपश्चिमको प्रचार हुन नसकेको बताए । पर्यटन प्रवद्र्धनका लागि सबै प्रकारका सम्भावना खोज्ने र स्थानीय सरकारको बीचमा सहकार्य गर्ने उनले बताए ।

पर्यटन वोर्ड पोखराका वरिष्ठ अधिकृत कुन्दन मिश्रले पर्यटन वोर्ड निजी क्षेत्रको मागमा स्थापना भएको स्मरण गरे । उनले ११ सदस्यीय बोर्डमा निजी क्षेत्रबाट ६ जनाले प्रतिनिधित्व गर्ने र सरकारको तर्फबााट ५ जनाले प्रतिनिधित्व गर्ने भन्दै वोर्ड निजी क्षेत्रमैत्री रहेको बताए ।

भारत र चीनको जनसंख्याको एक प्रतिशत मात्र पर्यटक नेपाल ल्याउन सकेमात्र पनि नेपालको पर्यटन क्षेत्र अत्याधिक रुपमा चलायमान हुने उनको भनाई छ । दुवै देशलाई समानढंगले आकर्षित गर्नुपर्नेमा उनले जोड दिए । सीमावर्ती क्षेत्रका सहरमा प्रवद्र्धनात्मक कार्यक्रम गर्दा भारतीय पर्यटक भित्र्याउन सहज हुने अपेक्षा समेत गरे ।

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पितम्बर जोशीले भारतबाट आउने पर्यटकलाई सीमा क्षेत्रबाट प्रवेश गरेपछि सहज यात्राको व्यवस्था गर्नुपर्ने बताए । उत्तराखण्डसंग जोडिएको महेन्द्रनगर नाका देशका लागि प्रशस्तमात्रामा पर्यटक भित्र्याउन सक्ने नाका भएको बताए ।

लामो यात्रा र विग्रेको सडकले पर्यटकलाई सास्ती हुने भन्दै महेन्द्रनगरबाट लक्जरी पर्यटकीय बस सञ्चालन गर्ने र धनगढीबाट पोखरासम्म सिधा हवाई उडान गर्नुपर्नेमा जोड दिए । होटल संघ कन्चनपुरका अध्यक्ष जगदिशचन्द्र भट्टले सुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, खप्तड, अपि सैपाल लगायत पर्यटकीय र ऐतीहासिक धरोहर यो प्रदेशमा भएपनि प्रचारप्रसार हुन नसकेको बताए ।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरा प्राकृतिक, संस्कृति र साहसिक पर्यटकका लागि महत्वपूर्ण स्थल रहेको बताए । उनले जाउँ है पोखरा अभियान पोखराका पर्यटन व्यवसायीको मात्र नभएर साझा अभियान भएको सम्झाए । पर्यटनसंग सम्बन्धित समस्या व्यवसायीका साझा समस्या रहेकाले मिलेर समाधानका उपाए खोजिनुपर्नेमा उनले जोड दिए ।

होटल संघ पोखराका सचिव पार्वती पाण्डेले शुक्रबारबाट सुरु जाउँ है पोखरा अभियान विभिन्न कार्यक्रसहित नेपालगन्ज धनगढी हुँदै महेन्द्रनगर पुगेको जानकारी दिइन् । होटल संघ पोखराका उपाध्यक्ष दीपक श्रेष्ठका अनुसार अभियान टोलीमा पोखराबाट होटलसंघ सहित पर्यटन सम्बद्ध संघसंस्थाका प्रतिनिधि र पत्रकार समावेश छन् ।

  • २ पुष २०८०, सोमबार २०:०१ प्रकाशित