पश्चिममा जाउँ है पोखरा अभियान

अन्तर्राष्ट्रिय उडानका लागि दबाब दिन पोखरा र भैरहवाका पर्यटन व्यवसायीले सहकार्य गर्ने

पोखरा भ्रमण गर्न निम्ता, राजमार्ग निर्माणको काम समयमै सक्न आग्रह

केन्द्रभाग मिडिया

भैरहवा ।

पोखरा र भैरहवाका पर्यटन व्यवसायीले पर्यटन क्षेत्र चलायमान बनाउन सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् ।

होटल संघ पोखराले सञ्चालन गरेको ‘जाउँ है पोखरा’ अभियान अन्तरर्गत भैरहवामा शनिबार भएकोे पत्रकार भेटघाट एवं अन्तरक्रिया कार्यक्रममा बोल्ने व्यवसायीहरुले यस्तो बताएका हुन् । भैरहवामा आएका पर्यटकलाई पोखराको बारेमा जानकारी गराउने र पोखरामा आएका पर्यटकलाई भैरहवाका बारेमा जानकारी गराउने व्यवसायीले प्रतिवद्धता जनाएका छन् ।

पोखरा र भैरहवामा एकसाथ पर्यटन प्रवद्र्धन गर्नका लागि दुवै सहरमा निर्माण भएका अन्तर्राष्ट्रि विमानस्थलमा अन्तर्राष्ट्रिय उडान अनिवार्य रहेको र त्यसका लागि समूहिक पहल गर्नुपर्नेमा जोड दिए । काठमाडौंका सिमित व्यक्तिले आफ्नो फाइदाका लागि पोखरा र भैहरवाका विमानस्थल सञ्चालनमा अवरोध गरेको सहभागीको आरोप थियो । त्यसैगरी सहभागीहरुले पोखरा लुम्बिनी जोड्ने सिद्धार्थ राजमार्ग र बुटवलबाट नारायणगढ, मुग्लिङ हुँदै पोखरा जोड्ने राजमार्गको समयमै काम सम्पन्न गरिनुपर्नेमा समेत जोड दिए ।

पर्यटन विकास परिषद लुम्बिनीका अध्यक्ष रामु जोशीले पर्यटन क्षेत्र चलायमान गराउन गराउन एकीकृत रुपमा काम गर्नुपर्नेमा जोड दिए । उनले एक अर्को प्रदेशमा रहेका पर्यटकीय स्थलका बारेमा जानकारी दिन सकिए पर्यटकको बसाई अबधि लम्ब्याउन सकिने उनको धारणा छ । बुद्ध जन्म स्थल लुम्बिनी र बर्दिया राष्ट्रिय निकुञ्ज लगायत लुम्बिनीका पर्यटकीय स्थलहरुको गण्डकीमा र लुम्बिनीमा गण्डकीका पर्यटकीय स्थलका बारेमा जानकारी दिनुपर्ने उनको भनाई छ ।

पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनाराण श्रेष्ठले पोखरा अन्तर्राष्ट्रि विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि आफूहरुले निरन्तर प्रयास भएपनि केही चार्टर फ्लाइट बाहेक अन्य उडान हुन नसकेको बताएका छन् । उनले विमानस्थल सञ्चालनका लागि ठूलै आन्दोलन चलाउनुपर्ने अवस्था आउन सक्ने बताए । सुरुमा पोखरा र भैरहवाबाट नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्नुपर्नेमा उनले जोड दिए ।

अध्यक्ष श्रेष्ठले पोखरामा प्याराग्लाइडिङसहित साहसी पर्यटक र प्रकृतिसंग रमाउने एवं धार्मिकका साथै सांस्कृतिक महत्वपूर्ण स्थल रहेका भन्दै पर्यटकीय गतिविधिमा सहभागी भई आनन्द लिन आग्रह गरे ।

सिद्धार्थ होटल संघ भैरहवाका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयर र हिमालयन एयरलाइन्सले केही उडान गरेपनि निरन्तरता दिन नसकेको बताए । बनेका विमानस्थल सञ्चालन नभए अर्थतन्त्र चलायन नहुने उनले धारणा राखे । सिद्धार्थ सञ्जाल लुम्बिनी विगत चार महिनादेखि आन्दोलनमा रहेको जानकारी दिए । माग सुनुवाई नभए आन्तरिक उडान समेत बन्द गर्ने उनले चेतावनी दिए ।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले देशका सबै पर्यटन व्यवसायीका समस्या साझा रहेको बताए । सरकारले पूर्वाधार निर्माण गर्न उक्साएको तर व्याजदर बढाएर धोका दिइएको उनको भनाई छ । अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि दबाब दिएजस्तै विमानस्थल सञ्चालनका लागि दबाब पढाउनुपर्ने अवस्था आएको उनले औंल्याए । दुवै स्थानका विमानस्थल सञ्चालनका लागि दबाब दिन सहकार्य गर्ने उनले बताए ।

पोखरामा यतिबेला विभिन्न मेला महोत्सवहरु चलिरहेको, अंग्रेजी नयाँ वर्षको अवसरमा सडक महोत्सव आयोजना भएको र नेपाली नयाँ वर्षमा समेत नववर्ष फेवा महोत्सव जस्ता गतिविधि हुने भन्दै उनले पोखरामा आउन सबैलाई आग्रह गरे । उनले ४० हजार पर्यटकलाई एक साथ व्यवस्थापन गर्न सक्ने क्षमता पोखराका होटलहरुमा रहेको उनले जानकारी दिए । उनका अनुसार पोखरामा रहेका पर्यटकीय स्तरका होटलमा १५ हजार जनाले प्रत्यक्ष रोजगार पाएको बताए ।

पर्यटन वोर्ड पोखराका वरिष्ठ अधिकृत कुन्दन मिश्रले पर्यटन वोर्ड व्यवसायीसंग मिलेर पर्यटन प्रवद्र्धनका लागि लागि परेको बताए । उनले पर्यटन वोर्ड र पर्यटन व्यवसायी एक सिक्काको दुइपाटा रहेको बताए । पर्यटन वोर्ड पोखरा र पर्यटन वोर्ड लुम्बिनी समेत मिलेर एक अर्को प्रदेशमा पर्यटन प्रवद्र्धनका लागि सहयकार्य गर्ने उनले प्रतिवद्धता जनाए ।

नाट्टा लुम्बिनी प्रदेशका अध्यक्ष रचना पन्तले सहज कनेक्टिभिटी हुनुपर्नेमा जोड दिइन् । विमानस्थल सहज सञ्चालनका लागि दबाब दिन सरोकारवाला पक्ष सबै एक ठाउँमा रहेको जानकारी दिइन् । उनले पोखरा पर्यटकीय राजधानी रहेकामा दुविधा नरहेको धारणा राख्दै गण्डकी र लुम्बिनीको पर्यटन प्रवद्र्धन गर्न एकीकृत योजना आवश्यक रहेको औंल्याइन् ।

होटल संघ पोखराको आयोजनामा शुक्रबारबाट सुरु जाउँ है पोखरा अभियान विभिन्न कार्यक्रसहित नेपालगन्ज, धनगढी हुदैं महेन्द्रनगरसम्म पुगेर पोखरा फर्कनेछ । अभियान टोलीमा पोखराबाट होटलसंघ सहित पर्यटन सम्बद्ध संघसंस्थाका प्रतिनिधि र पत्रकार समावेश छन् ।

टोलीमा सहभागी पर्यटकीय संघ संस्थाको छाता संस्था पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा पछिल्लो समयमा पर्यटन आगमनमा केही बृद्वी भएको बताउदै यस्ता कार्यक्रमले प्रर्वद्धनमा थप टेवा पुग्ने बताएका छन् ।

अभियानमा अन्तर्गत पुग्ने स्थानमा भैरहवामा जस्तै पत्रकार सम्मेलनका साथै सरोकारवाला पक्षसँग अन्तरक्रिया गरिने महासचिव राजेन्द्र ढकालले जानकारी दिए ।

 

  • ३० मंसिर २०८०, शनिबार ११:४३ प्रकाशित