राप्रपाको महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया आजदेखि सुरु

केन्द्रभाग मिडिया

राप्रपाको केन्द्रीय महाधिवेशन प्रतिनिधि छान्ने प्रक्रिया सोमबारदेखि सुरु भएको छ । सबै जिल्लाबाट महाधिवेशन प्रतिनिधि छान्ने प्रक्रिया मंसिर ८ गतेसम्म जारी रहने महाधिवेशन प्रचारप्रसार समितिका संयोजक मोहन श्रेष्ठले जानकारी दिए ।

आजदेखि प्रत्येक प्रदेशस्तरबाट सक्रिय सदस्यबीच हुने निर्वाचनबाट ९–९ जना गरी २ हजार ९ सय ७० जना प्रतिनिधि छानिनेछन्। यसमा खसआर्य ३, महिला ३, जनजाति १, दलित १ र अल्पसंख्यक समुदायबाट १ गरी प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट नौ जना प्रतिनिधि चयन हुनेछन् ।

राप्रपाका अनुसार अध्यक्षले मनोनित गर्ने र प्रदेशसभा निर्वाचन क्षेत्रबाट चुनिएर आउने प्रतिनिधिबाहेक अन्य महाधिवेशन प्रतिनिधिको भने टुंगो लागिसकेको छ ।

जसअनुसार महाधिवेशनमा सहभागी हुनका लागि ७ सय ५३ स्थानीय तहका अध्यक्ष, प्रदेशसभा अध्यक्ष तीन सय ३०, संघीय निर्वाचन क्षेत्रका अध्यक्ष एक सय ६५, जिल्ला अध्यक्ष ७७ जना, प्रदेश अध्यक्ष सात जना स्वतः महाधिवेशन प्रतिनिधि हुने भएकाले अधिवेशनबाट टुंगो लागिसकेको हो ।

राप्रपाको महाधिवेशन मंसिर १५ देखि १७ गतेसम्म हुँदैछ ।

  • ६ मंसिर २०७८, सोमबार ०९:०४ प्रकाशित