काठमाडौँ ।
जाजरकोटमा शुक्रबार राति गएको भूकम्पको थप अध्ययन एवं अनुसन्धान गर्न भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरको टोली त्यहाँमा पुगेको छ । केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारी सहितको टोली अनुसन्धान गर्न शनिबार जाजरकोट पुगेको हो ।
उक्त टोलीले भूकम्पका बारेमा समग्र अध्ययन तथा अनुसन्धान गर्ने खानी तथा भूकम्प विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिए । “कति गहिराइबाट भूकम्प गएको छ, कुन दिशामा बढी क्षति पुगेको छ, भूकम्पले कस्ता घरमा क्षति पुगेको छ भन्नेबारे उक्त टोलीले अध्ययन गर्नेछ”, उनले भने ।
केन्द्रका वरिष्ठ भूकम्पविद् डा अधिकारीले जाजरकोट भूकम्प बझाङ भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको जानकारी दिए । उनले पछिल्लो समय नेपालका पश्चिम क्षेत्र भएर भूकम्प गइरहेको उल्लेख गरेका छन् ।














