एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल प्रदान गरिने भएको छ । एक्स्ट्रिम इनर्जी ड्रिङ्कले प्रतियोगिताका क्रममा ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ पुरस्कारअन्तर्गत उत्कृष्ट खेलाडीलाई चाँदीको बल प्रदान गर्ने भएको हो ।

सुदूरपश्चिम रोयल्सका शेर मल्ल चाँदीको बल प्राप्त गर्ने पहिलो खेलाडी बनेका छन् । सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीचको खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि मल्लले उक्त पुरस्कार प्राप्त गरेका हुन् ।

एनपीएलमा खेलाडीको उत्कृष्ट प्रदर्शनलाई प्रोत्साहन गर्ने उद्देश्यले एक्स्ट्रिमले यो पुरस्कार सुरु गरेको हो । यसले प्रतियोगितामा खेलाडीलाई व्यक्तिगत प्रदर्शनमा थप प्रेरित गर्नुका साथै खेलप्रतिको प्रतिस्पर्धात्मक भावना बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

एनपीएलमा सहभागी आठ टोलीमध्ये एक्स्ट्रिम इनर्जी ड्रिङ्कसँग प्रायोजन साझेदारीमा रहेका सात टोलीका खेलाडीले मात्र यो पुरस्कार प्राप्त गर्नेछन् । एक्स्ट्रिमको प्रायोजनमा रहेका दुई टोलीबीच प्रतिस्पर्धा हुँदा दुवै टोलीका उत्कृष्ट खेलाडीलाई चाँदीको बल प्रदान गरिने व्यवस्था गरिएको छ ।

यस व्यवस्थाले खेलमा जित हासिल गर्ने टोलीका खेलाडीसँगै विपक्षी टोलीबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समेत सम्मान गर्ने अवसर प्रदान गर्नेछ ।

एनपीएलको तेस्रो संस्करणमा एक्स्ट्रिमले पुरस्कारमार्फत खेलाडीको प्रदर्शनलाई प्रोत्साहन गर्ने र प्रतियोगितालाई थप आकर्षक बनाउने लक्ष्य लिएको छ । प्रतियोगिताको पहिलो खेलबाटै शेर मल्लले चाँदीको बल प्राप्त गरेसँगै आगामी खेलमा पनि यो पुरस्कार कसले जित्ने भन्ने चासो बढ्ने देखिएको छ ।

  • १० कार्तिक २०८३, मंगलवार १९:५१ प्रकाशित