पोखरा ।
पोखराको मित्रमिलन सहकारी संस्थाविरुद्ध सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकीमा बचतकर्ताले उजुरी दिएका छन् ।
आफूहरुको बचत हिनामिना भएको र फिर्ता माग्दासमेत नदिएकोे दाबी गर्दै उनीहरु सहकारी रजिष्टारको कार्यालयमा गई उजुरी दिएका हुन् । पिडीत बचतकर्ताले हिजो (आइतबार) उजुरी दिएको सहकारी रजिष्ट्रार कार्यालय गण्डकीले जनाएको छ ।
रजिष्ट्रार कार्यालय गण्डकीका निमित्त प्रमुख ईश्वरी ढकालले मित्रमिलनका ३४ जना बचतकर्ताले एकसाथ उजुरी दिएको जानकारी दिएका छन्। ढकालले बचतकर्ताको निवेदन कार्यालयमा आएको र प्रहरीले पनि पत्र पठाएको बताउँदै अब अनुसन्धान र छानबिन हुने जनाएकी छिन् ।
आइतबार सहकारी रजिष्टारको कार्यालय गण्डकीले आवश्यक छानबिनका लागि जिल्ला प्रहरी कार्यालय कास्कीलाई पत्र लेखेको थियो ।
सहकारी रजिष्टारको कार्यालयले प्रतिवेदन दिनासाथ आफूहरु कानुनी कारबाहीका लागि तयार रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी मोहन थापाले बताए ।

मित्रमिलन सहकारीका अध्यक्ष रमण पौडेल र प्रबन्धक किरण अधिकारी प्रहरी हिरासतमा छन् । बचतकर्तालाई दिएको चेक नसाटिएपछि उनीहरु विरुद्ध उजुरी परेको थियो ।
बचतकर्ताको उजुरीका आधारमा गत शनिबार उनीहरु प्रक्राउ परेका हुन् । मित्रमिलनले २२ सयजनाभन्दा बढी बचतकर्ताको करिब २० करोड रुपैयाँ बचत फिर्ता गर्न बाँकी छ ।














