दशैंमा दैनिक करिब ५०० मेगावाट बिजुली खेर

केन्द्रभाग मिडिया

काठमाडौं ।

दशैंमा देश भित्रको आन्तरिक विद्युत् खपत घट्दा जलविद्युत आयोजनाहरुबाट उत्पादित करिब ५ सय मेगावाट विद्युत् खेर गइरहेको छ ।

दशैंमा विद्युत् बढी खपत गर्ने उद्योग कलकारखानाहरु बन्द हुँदा र काठमाडौंमा अत्यधिक चिसो पनि सुरु नभइसकेको तथा तराईमा गर्मी पनि सकिएकाले आन्तरिक रुपमा विद्युत्को माग घटेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

तर, बर्खा सकिएको र नदी तथा खोलानालाहरुमा सफा पानीको बहाव हुने हुँदा यो समयमा नेपाल विद्युत प्राधिकरण, यसका सहायक कम्पनीहरु र निजी क्षेत्रका स्वामित्वका जलविद्युत आयोजनाहरुबाट विनाअवरोध विद्युत् उत्पादन हुने गरेको छ ।

प्राधिकरण, यसका सहायक कम्पनीहरु र निजी क्षेत्रका जलविद्युत आयोजनाहरुबाट हाल दैनिक करिब २ हजार २ सय मेगावाट विद्युत् उत्पादन भइरहेको छ । त्यसमध्ये करिब १ हजार मेगावाट देशभित्र खपत भइरहेको भने करिब साढे ६ सयदेखि ७ सय मेगावाटसम्म विद्युत् भारततर्फ निर्यात भइरहेको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उत्पादित विद्युत् देशभित्र खपत गर्न नसक्दा र थप निर्यातका लागि भारतबाट स्वीकृति नपाउँदा अहिले दैनिक ५ सय मेगावाट हाराहारीमा विद्युत् खेर फाल्नुपर्ने वाध्यात्मक अवस्था उत्पन्न भएको बताए ।

  • ८ कार्तिक २०८०, बुधबार १३:३२ प्रकाशित