काठमाडौं ।
चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयाघात भएको छ। वेइजिङस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार श्रेष्ठलाई गएराति १२ बजे हृदयाघात भएको हो।
श्रेष्ठले छात्ती दुख्यो भनेपछि राति नै उनलाई बेइजिङस्थित इन्टरनेशनल मेडिकल साइन्सेज अस्पताल भर्ना गरिएको छ। उपचारमा संलग्न चिकित्सकले श्रेष्ठको कोरोनरी आर्टरी ब्लकेज भएको बताएका छन्।
राति नै तुरुन्तै उनको मुटुको एन्जीओप्लास्टी गरिएपछि उनको अवस्था अहिले स्थित रहेको श्रेष्ठको सचिवालयले जनाएको छ। उनलाई २४ घण्टासम्म अस्पतालमै अब्जर्भेसनमा राख्नुपर्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
प्रधानमन्त्री कार्यालयले गृहमन्त्री श्रेष्ठलाई हृदयाघात भएको जनाएको छ।
प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक गोबिन्द आचार्यले गृहमन्त्री श्रेष्ठलाई माइल्ड हार्ट एट्याक भएको बताए। तीन दिनअघि श्रेष्ठ बीआरआई सम्मेलनमा भाग लिन चीन पुगेका थिए।














