पोखरा २२ ठुलढुङ्गामा कृषि उपज सङ्कलन केन्द्र सञ्चालन

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिका वडा नं.२२ ठुलढुङ्गामा कृषि उपज सङ्कलन केन्द्र सञ्चालन गरिएको छ ।

महानगरपालिकाको आर्थिक विकास महाशाखा र वडा नं।२२ को समन्वय तथा स्थानीय कृषकहरूको सक्रियतामा सिद्धार्थ राजमार्ग तरकारी पकेट क्षेत्र अन्तरगत उत्पादित कृषिजन्य उपजहरूको सङ्कलनका लागि सो केन्द्र सञ्चालनमा ल्याइएको हो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस प्रकारका सङ्कलन केन्द्रहरू मार्फत उत्पादक र उपभोक्ताहरू प्रत्यक्ष रूपमा जोडिने र स्थानीय उत्पादनको सहज बजारीकरणमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे। ‘पोखरा महानगरपालिका कृषकहरूको उत्पादन खेर नजाओस् र उचित बजार मूल्य प्राप्त गर्न सकोस् भन्नेमा चिन्तित छ, प्रमुख आचार्यले भने, ‘महानगरपालिकाले कृषक दाजुभाइ दिदीबहिनीहरूको मिहिनेतले उत्पादित वस्तुको बजारीकरणका लागि समर्थन मूल्य समेत प्रदान गर्दैआइरहेको छ ।’ कृषकहरूलाई प्रदान गरिने समर्थन मूल्यले उनीहरूलाई हौसला मिलेको उनले बताए।

महानगरपालिकाका दर्जनौँ स्थानहरूमा कृषि उपज सङ्कलन केन्द्रहरू स्थापना गरी सञ्चालनमा ल्याइएको बताउँदै उहाँले गुणस्तरीय उत्पादनमा जोड दिए । महानगरपालिकामा तरकारीजन्य वस्तुहरूको आयात प्रतिस्थापन गरी आत्मनिर्भर बनाउने र निर्यात समेत गर्नेगरि उत्पादनमा लाग्नु पर्ने अवस्था रहेको उनले बताए । पोखरा काँक्रो लगायत कतिपय कृषिजन्य उत्पादनमा आत्मनिर्भर भैसकेको बताउँदै प्रमुख आचार्यले अव बिस्तारै अन्य तरकारी तथा मासुजन्य बस्तुहरूमा पनि आत्मनिर्भर हुने अवस्था सृजना गर्नुपर्ने बताए ।

वडा नं।२२ का वडा अध्यक्ष हिमलाल बरालले वडालाई तरकारीको पकेट क्षेत्र घोषणा गरी लागु गरिएका कार्यक्रमहरू निकै प्रभावकारी भइरहेको बताए । वडाको अधिकांश क्षेत्रमा तरकारी खेती गरिएको र व्यवसायी रूपमा खेती गर्ने कृषकहरूको सङ्ख्या समेत बढ्दै गइरहेको उनले बताए । महानगरको अनुदान, प्रोत्साहन र लागत साझेदारी लगायतका कयौँ कृषक केन्द्रित कार्यक्रमहरूले यस प्रति कृषकहरूको आकर्षण बढिरहेको उनले बताए । व्यवसायीकतामा जोड दिँदै उनले उत्पादन वृद्धि र गुणस्तरमा ध्यान दिन सुझाव दिए ।

आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले पोखरा महानगरपालिकाको अधिकांश क्षेत्र निकै उर्वर रहेको बताए । कृषकहरूको मिहिनेत अनुसार प्रतिफल प्राप्त भइरहेको उल्लेख गर्दै उनले यसमा महानगरपालिकाको तर्फबाट आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराइएको बताए । महानगरले हाल ३५ वटा कृषि उपजहरूको न्युनतन समर्थन मूल्य तोकिसकेको उनले बताए । उनका अनुसार यसले उत्पादन पश्चात् बजारीकरणका सन्दर्भमा कृषकहरूको चिन्तालाई दूर गरिदिएको छ ।

कृषकहरूको उत्पादनलाई सहज तथा सुरक्षित ढुवानीका लागि महानगरपालिकाको तर्फबाट चिस्यान सुविधा सहितको कृषि एम्बुलेन्स सञ्चालन गरिएको छ । कृषकहरूको खेतबारीमा पुगेर कृषि उपजको सङ्कलन तथा सुरक्षित ढुवानी कृषि एम्बुलेन्स मार्फत भइरहेको कडरियाले बताए। त्यस क्षेत्रका कृषकहरूले भने ग्रामीण क्षेत्रमा बाँदर लगायतको समस्या रहेकाले यसको समाधानका लागि उचित व्यवस्थापन गरिदिन आग्रह गरेका छन् ।

  • २ कार्तिक २०८०, बिहीबार ०९:२१ प्रकाशित