दलका भातृसंस्था र संघसंस्थालाई उपत्यका नगरविकासको जग्गा खाली गर्न पत्र

जग्गा खाली गराउन पक्रिया अगाडि बढाइसकेका छौं : मेयर आचार्य, तीन विकल्पमा समेत छलफल

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा उपत्यका नगरविकास समितिले आफ्नो स्वामित्वमा रहेको तर केही राजनीतिक दल र समाजिक संघसंस्थाले अतिक्रमण गरेर बसेको जमिन खाली गराउने भएको छ । पोखरा–९ स्थित कित्ता नम्बर ५० मा रहेको सहारा क्लव, हिमाली सांस्कृतिक परिवार, सामुदियिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा, बाल विकास केन्द्र, जिफण्ड, र ट्रेडयुनियन कांग्रेस कास्कीले अतिक्रमण गरेर बनाएको भौतिक संरचना हटाउने भएको हो ।

पोखरा उपत्यका नगरविकास समितिले गत १ बैशाख २०८० मा जग्गा खाली गरिदिन भन्दै ती संस्थाहरुलाई पत्राचार नै गरिसकेको छ । उनीहरुसंग २÷३ चरणमा कुरा समेत भइसकेको पोखरा उपत्यका नगरविकास समितिका प्रशासकीय अधिकृत प्रमोद कुमार गुरुङले जानकारी दिए ।

उपत्यका नगरविकास समितिको अतिक्रमित जग्गा खाली गर्नुको विकल्प नरहेको उनको भनाई छ । ‘हामीले पत्राचार गरिसकेपछि त्यहाँ रहेका संरचना हटाउने विषयमा २÷३ चरणमा छलफल समेत गरिसकेका छौं । उहाँहरुले केही विकल्पको कुरा पनि गरिरहनु भएको छ । तर, हामी खाली गराउने पक्षमै छौं ।’ उनले भने, त्यसका लागि पक्रिया नै अगाडि बढाइसकेका छौं ।’ उक्त स्थानमा कांग्रेस निकटको टे«ड युनियन कांग्रेस, एमाले निकटको जिफण्डका साथै वाल विकास केन्द्र, सामुदायिक सेवा केन्द्र, हिमाली सांस्कृतिक परिवार र सहारा क्लवले भवन बनाएर विभिन्न व्यक्तिलाई भाडामा लगाई आम्दानी समेत लिइरहेका छन् ।

यसरी जग्गा अधिक्रमण गरेर भवन बनाउँदै भाडामा लगाएको विषयमा अख्तियारमा समेत यस अघि नै उजुरी परिसकेको अख्तियार श्रोतले जानकारी दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराले उक्त जग्गाको विषयमा पोखरा उपत्यका नगरविकास समितिका नाममा पत्र नै काटेर जिज्ञासा समेत राखेको छ । १२ चैत २०७९ मा अख्तियार पोखराले पत्र काट्दै ‘नगर विकास ऐन २०४५ को दफा १० मा अतिक्रमण रोक्ने वा भत्काउने व्यवस्था भएको, उक्त व्यवस्था अनुरुप अतिक्रमण किन नहटाएको हो ?’ भनेर उपत्यका नगरविकास समितिलाई सोधेको छ ।

सहारा क्लव पोखराका अध्यक्ष केशवराज ढकालले उपत्यका नगरविकास समितिले संरचना हटाउन पत्राचार गरेको पुष्टि गरेका छन् । उनले पोखराको गहनाकै रुपमा रहेको सहारा क्लवलाई बैकल्पिक ठाउँ दिनका लागि आफूहरुले आग्रह गरेको समेत जानकारी दिए । ‘पोखरा उपत्यका नगरविकास समितिबाट संरचना हटाउन पत्र आएको हो । हामीले हटाउने बारेमा भने सोचेका छैनौं,’ उनले भने, ‘सहारा क्लव पोखराकै गौरव हो । केही विकल्प दिनुहोस् भनेर हामीले आग्रह गरेका छौं । तर, यस विषयमा खासै केही सुनुवाई भने भएको छैन ।’

जग्गा खाली गराउन पक्रिया अगाडि बढाइसकेका छौं : मेयर आचार्य

पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष समेत रहेका पोखरा महानगरका मेयर धनराज आचार्यले समितिको जग्गा अतिक्रमण गरेर दलका भातृसंस्था एवं विभिन्न संस्थाले निर्माण गरेका संरचना भत्काइने बताए । त्यसका लागि उपत्यका नगर विकास समितिले प्रक्रिया अगाडि बढाएको उनले जानकारी दिए ।

उपत्यका नगरविकास समितिको जग्गा यसरी अतिक्रमण गरेर बस्न नदिइने उनले प्रष्ट पारेका छन् । उनले कुनै दलका भातृसंस्था र सामाजिक संघ संस्थाले जग्गामा संरचना बनाउँदै आम्दानीको स्रोत बनाउने तर जग्गाको स्वामित्व रहेको उपत्यका नगरविकास समिति त्यसलाई टुलुटुलु हेरेर नबस्ने उनको स्पष्टोक्ती छ । ‘पोखरा उपत्यका नगरविकास समितिको जग्गा दलका भातृसंस्था र सामाजिक संघसंस्थाले जसरी अहिले उपयोग गरिरहेका छन् अब त्यसो गर्न दिइन्न । ति संरचना भत्काउनुको विकल्प छैन’ उनले भने । यसको तयारी समेत भइसकेको भन्दै उनले अतिक्रमित जग्गा खाली गराउने काममा आफू केन्द्रित हुनेसमेत बताएका छन् ।

तीन विकल्पमा छलफल

पृथ्वीचोक स्थित दलका भातृसंस्था एवं विभिन्न संघसंस्थाले अतिक्रमण गरेर बनाएका संरचनालाई भत्काउने वा अन्य वैकल्पिकढंगले अगाडि बढ्ने भन्ने विषयमा विभिन्न चरणमा पोखरा उपत्यका नगरविकास समितिसंग छलफल भएको छ ।

जिफण्ड गण्डकीका अध्यक्ष रुद्धबहादुर खत्रीले उपत्यका नगरविकास समितिले नियमन गर्दा आफूहरु सबै विकल्पमा खुल्ला रहेको बताए । उनले आफूहरुले कब्जा गरेर बसेको नभई राज्यले नै ल्याएर व्यवस्थापन गरेको उल्लेख गरे । ‘बसपार्क बनाउने भनेर हामीलाई यहाँ सारिएको हो । हामीले कब्जा गरेर बसेका होइनौं । देशको कानुन हामी मान्छौं’ उनले भने । तीन वटा विकल्पमा छलफल भएको दाबी गर्दै गरे ।

पहिलो विकल्प किन्न दिए किन्ने, दोस्रो विकल्प भोगाधिकार लिएर बस्ने र तेस्रो विकल्प आँफूहरु भाडामा बस्न समेत तयार रहेको उनले जानकारी दिएका छन् । ती पटक छलफल भइसकेको र अब पोखरा महानगरका प्रमुख समेत रहेका उपत्यका नगरविकास समितिका अध्यक्ष धनराज आचार्यसंग समेत बसेर विषयको टुंगो लगाउने तयारी रहेको उनले बताए ।

 

 

 

 

 

  • २१ आश्विन २०८०, आईतवार ११:३० प्रकाशित