मुलुकलाई ठिक ठाउँमा लाने हो भने शिक्षाको जिम्मेवारी राज्यले लिनुपर्छ : चित्रबहादुर केसी

केन्द्रभाग मिडिया

काठमाडौँ ।

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले देशलाई ठिक ठाउँमा लाने हो भने शिक्षाको जिम्मेवारी राज्यले लिनुपर्ने बताएका छन् ।केसीले मुलुकको दुर्गति हुनुमा शिक्षा प्रणाली कारक रहेको बताए ।

शुक्रवार प्रतिनिधिसभाको बैठकमा विद्यालय शिक्षासम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफलमा भाग लिँदै उनले जुन देशले शिक्षा, स्वास्थ्य, रोजगारीको जिम्मा लिँदैन त्यो देशको कति विकास भएको छ भन्दै प्रश्न गरे ।

उनले भने– ‘शिक्षाको निजीकरण, व्यापारीकरण भएको छ, शिक्षाको व्यापारीलाई सांसद मात्र भएन भनेर हामी मन्त्री पनि बनाउँछौँ । अहिले यो रोदन देख्दा पो म छक्क परेको छु । त्यसकारण यदि देशलाई ठिक ठाउँमा लैजाने हो भने शिक्षा र स्वास्थ्यको जिम्मेवारी राज्यले लिनुपर्छ ।’

अहिले पढेका विद्यार्थीहरूमा यो देशमा केही हुँदैन भन्ने चेतना रहेको बताए । यहाँको भूगोल, इतिहास, संस्कृति, समस्याप्रति केही चिन्तन नहुने र बोर्डिङ स्कुलमा पढ्दै म अमेरिका जान्छु भन्ने चेतना गाडिएको उल्लेख गरे । अमेरिका जाने, अस्ट्रेलिया जाने, त्यही पनि सकिन भने पढ्ने निहुँमा जापान जाने । हामीले अहिलेसम्म गरेको प्रगति नै यही नै हो ।’

  • १९ आश्विन २०८०, शुक्रबार १५:५५ प्रकाशित