पोखरा ।
एमाले गण्डकीको अध्यक्षमा नवराज शर्मा निर्वाचित भएका छन् । मायानाथ अधिकारीलाई १६६ मतले पछाडि पार्दै प्रदेशको प्रथम अधिवेशनबाट उनी निर्वाचित भएका हुन् । नवराजले ५३१ मत पाउँदा मायानाथको पक्षमा ३५५ मत खस्यो ।
शर्मा यसअघि गठित समितिको पनि अध्यक्ष थिए । अध्यक्षमा शर्मा विजयी हुँदा उपाध्यक्षसहित सबै पदाधिकारीमा पनि उनीपक्षीय उम्मेदवार विजयी भएका छन् ।
उपाध्यक्षमा स्याङ्जाका मीनप्रसाद गुरुङ १९२ मतले निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नवलपुरका बाबुराम विकले ३४२ मत प्राप्त गरे । मीनले ५३४ मत ल्याएका थिए । सचिवमा नवराजपक्षीय लमजुङका धनञ्जय दवाडी ५२० मतसहित निर्वाीचत भए भए । कास्कीका रश्मि आचार्यको पक्षमा ३६६ मत आयो ।
महिला उपसचिवमा पर्वतका मञ्जु अधिकारी ५३१ मतसहित विजयी बनिन् । उनकी प्रतिस्पर्धी कास्कीकी मीना गुरुङले ३६५ मत ल्याइन् ।
कास्कीका दामबहादुर विक र म्याग्दीका सन्तोष रावलबीच अर्को उपसचिवमा भएको भिडन्तमा १५३ ले विकले बाजी मारे । विकले ५२० र रावलको पक्षमा ३६७ मत आयो ।
अध्यक्ष निर्वाचित शर्मालाई एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव पद्मा अर्याल, स्थायी समिति सदस्य किरण गुरुङ लगायतको साथ थियो भने, अध्यक्षमा पराजित भएका अधिकारीलाई एमाले महासचिव शंकर पोखरेल र स्थायी समिति सदस्य खगराज अधिकारी लगायतका नेताहरुको साथ थियो ।