बझाङमा भूकम्प

घाइतेको संख्या १२ पुग्यो, क्षतिको विवरण आउने क्रम जारी (अपडेट)

केन्द्रभाग मिडिया

पोखरा ।

बझाङ केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण १२ जना घाइते भएका छन‍् । भूकम्पका कारण सुदूरपश्चिमका जिल्लाहरूमा धक्का महसुस भएको छ। जसअनुसार बझाङमा ११ जना र अछाममा एक जना घाइते भएका हुन् । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयका अनुसार क्षतिको विवरण आउने क्रम जारी रहेको छ । ‘अहिलेसम्म ११ जना घाइते भएको विवरण आएको छ । परकम्प गइरहेकाले मानिसहरु सबै घरबाहिर नै रहेका छन्’ उनले भने ।

उनका अनुसार बझाङमा सत्यवादी मावि भोपुरका केही विद्यार्थी सहित कर्मचारी र सर्वसाधारण घाइते भएका हुन् । अछाममा विद्यालयको भवनबाट हामफाल्दा एक विद्यार्थी घाइते भएका जनाइएको छ ।

घाइतेलाई स्थानीय स्वास्थ्य चौकी लगिएको छ । सिडीओ पाण्डेयका अनुसार जिल्लामा धेरै भौतिक संरचनामा क्षति भएको अनुमान छ । अहिलेसम्म मानवीय क्षति भएको छैन । सदरमुकामका पक्की घरहरू चर्किएका छन् । गाउँका कच्ची घर तथा विद्यालयहरू भत्किएका छन् । जिल्लामा भूकम्पका कारण जनजीवन प्रभावित बनेको छ । सुरक्षित ठाउँमा रहन प्रशासनको तर्फबाट अनुरोध गरिएको उनले बताए । कुन ठाउँमा कति क्षति भयो भन्नेबारे प्रहरीले तथ्यांक संकलन गरिरहेको छ।

जय पृथ्वी राजमार्गको २ ठाउँमा धुले पहिरोले बाटो अबरुद्ध छ । अबरुद्ध बाटो हटाउन परकम्प गइरहेको र ढुंगा माटो खसिरहेकाले तत्काललाई समस्या रहेको सिडीओ पाण्डेले बताए ।

  • १६ आश्विन २०८०, मंगलवार १८:१३ प्रकाशित