पर्वतमा बाढीले बगाएको जीप टुक्रा टुक्रा अवस्थामा भेटियो : एकको शव फेला

२ जना अझै बेपत्ता

केन्द्रभाग मिडिया

पोखरा ।

हिजो (शनिबार) साँझ बाढीले बगाएर बेपत्ता जिप टुक्रा टुक्रा परेको अवस्थामा भेटिएको छ ।

पर्वतको कुश्मा नगरपालिका(७ र ८ को सिमाना तमादीखोलामा बाढीमा बगेर बेपत्ता भएको जीप ३०० मिटर तल मोदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ। जीपसँगै बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव भेटिएको छ भने दुई जना अझै बेपत्ता छन् ।

शनिबार साँझ बागलुङदेखि पोखराका लागि छुटेको ग१ज ६३१३ नम्बरको टाटा सुमो जीप बाढीले बगाएर बेपत्ता भएको । बेपत्तामध्ये बिहान उछिट्टिएको अवस्थामा एक जनाको शव फेला परेको पर्वत प्रहरी प्रमुख डिएसपी खुमलाल भुसालले जानकारी दिए । उनी तिलोत्तमा नगरपालिका वडानम्बर ९ निवासी गोपालप्रसाद बस्याल रहेको भुसालले बताए ।

उनी र अर्का एक जना साथी बागलुङबाट पोखराका लागि गाडी चढेको प्रहरीलाई खबर प्राप्त भएको छ । बिहानैदेखि बेपत्ता २ जनाको खोजी कार्य भइरहेको छ ।

गाडी चालकले भने आफू भागेर बाँच्न सफल भएको बताएका छन् । उनी अहिले प्रहरी नियन्त्रणमा छन् ।
गाडीलाई रोकेर यात्रु झार्ने तयारी गर्दा गर्दै माथिबाट एक्कासी रुख, ढुंगामुडा र माटोसहित आएको बाढीले जीप बगाएर बेपत्ता पारेको थियो । बिहान जीप ३०० मिटर तल टुक्रा टुक्रा परेको अवस्थामा भेटिएको हो ।

  • १४ आश्विन २०८०, आईतवार ०९:३७ प्रकाशित