असोज २५ गतेदेखि दसैँका लागि नयाँ नोट साट्न पाइने

पहिलो पटक क्यास सटहीमा क्यूआरको प्रयोग गर्ने तयारी

केन्द्रभाग मिडिया

काठमाडौँ ।

दसैँतिहार लक्षित यस वर्ष असोज २५ गतेदेखि सुकिला नयाँ नोट साट्न पाइने भएको छ । केन्द्रीय बैंकले घटस्थापनाको आसपास पारेर असोजको अन्तिम सातादेखि सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा प्रदान गर्ने तयारी गरेको हो ।

विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि रु। ५, रु। १०, रु। २०, रु। ५० र रु। १०० दरका एक–एक गड्डी गरी प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट सटहीको सुविधा प्रदान गरिने नेपाल राष्ट्र बैंकका मुद्रण विभाग प्रमुख एवम् कार्यकारी निर्देशक ईडी नरेश शाक्यले जानकारी दिएका छन् ।

बजारको माग र आवश्यकताका आधारमा केन्द्रीय बैंकले आवश्यक सुकिला नोटको व्यवस्था गरेको बताउँदै कार्यकारी निर्देशक शाक्यले उपत्यकासहित देशका सात वटै प्रदेशस्थित राष्ट्र बैंकको शाखा कार्यालयहरूमार्फत सर्वसाधारणका लागि नोट सटही सुविधा उपलब्ध गराइने बताए ।

मागका आधारमा क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्था र सहकारी संघ संस्थाहरूलाई समेत नयाँ नोट सटहीको सुविधा उपलब्ध गराउने शाक्यको भनाइ छ ।

तर, दशैंतिहारमा हुने नगद कारोबारमा भने सुकिला नोट नै प्रयोग गर्नुपर्ने शाक्यको भनाइ छ ।सर्वसाधारण सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै केन्द्रीय बैंकले पहिलो पटक क्यास सटहीमा क्यूआरको प्रयोग गर्ने तयारी गरेको छ । सेवाग्राहीको भिडभाड र सहजताका लागि यस्तो व्यवस्था गर्न लागिएको कार्यकारी निर्देशक शाक्यले जानकारी दिए ।

  • १० आश्विन २०८०, बुधबार १४:०२ प्रकाशित