यातायात व्यवसायीको माग

‘पोखरा-मुग्लिङ सडक खण्डमा कच्ची सडकको सरह भाडादर तोकियोस्’

केन्द्रभाग मिडिया

पोखरा ।

यातायात व्यवसायीहरुले पृथ्वी राजमार्गलाई कच्ची सडक मानेर भाडादर निर्धारण गर्न सरकारसंग माग गरेका छन् । स्थनीय यातायात प्रालिको चौथो साधारणसभा एवं दोस्रो अधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका नेताहरुले यस्तो माग गरेका हुन् ।

मुग्लिङ देखि पोखरासम्म हाल सडक चौडा गर्ने कार्य जारी रहेको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माण भइरहेको राजमार्ग आयोजना निर्माणको काम सुस्त भइरहेको बेला व्यवसायीले सडक निर्माण नहुँदासम्म उक्त सडकलाई कच्चि सडक मान्नुपर्ने बताए ।

खाल्डाखुल्डी रहेको र सवारी सञ्चालन गर्दा व्यवसायी घाटामा गएको व्यवसायीको गुनासो थियो । मुग्लिङबाट पोखरा आउन नै ५/६ घण्टा लाग्ने अवस्था रहेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ट उपाध्यक्ष पुण्य प्रसाद सिटौला ‘सरोज’ले पृथ्वी राजमार्गको उक्त सडक खण्डलाई कच्चि सडक मानेरै भाडा समायोजन गर्नुपर्छ भन्नेमा महासंघ दृढ रहेको बताए ।

त्यसैगरी नारायणगढ– बुटवल सडक खण्ड पार गर्नपनि १२ घण्टाको समय लाग्ने भन्दै उक्त सडक खण्डसहित जतिपनि राजमार्गमा अहिले खन्ने तर काम नहुने भइरहेको छ ति सडकमा कच्चि सडक सरह मानेर भाडा समायोजन गर्नुपर्ने उनको भनाई छ । ‘बाटोमा यात्रा गर्दा यात्रुको ढाड खुस्कला जस्तो हुन्छ । लामो र पट्यारलाग्दो अवस्थामा बढो दुखद्ढंगले यात्रा गर्नुपर्ने अवस्था छ । सवारी साधन त्यहीढंगले थोत्रिएका छन् । यो अवस्थामा जहाँ निर्माण कार्य भइरहेका छन्, त्यहाँ कच्चि सडक सरह मानेर माडा निर्धारण गरिनुपर्दछ’ उनले भने ।

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष विजय बहादुर स्वाँरले यातायात व्यवसायी माथि राज्यको ज्यादति अति नै भएको टिप्पणी गरे । जुन देशको सार्वजनिक यातायात भद्रगोल हुन्छ त्यो देशको विकास र समृद्धि सहिढंगले हुन नसक्ने कुरालाई सरकारले वास्ता नगरेको उनको भनाई थियो । यातायात क्षेत्रमा खरबौंको लगानी रहेको, १० लाख मानिसलाई प्रत्यक्ष रोजगारी दिएको र ६४ प्रतिशत स्वरोजगार मजदुर रहेको यातायात क्षेत्रलाई राज्यले नहेरे आँफूहरु आफ्नै ढंगले चल्न तयार रहेको उनले चेतावनी दिए ।

तीन तहका सरकारका अलग अलग निर्देशन मान्नु परेको उदाहरण दिँदै उनले यातायात क्षेत्रलाई कुन तहको सरकारले कसरी हेर्ने हो त्यो प्रष्ट पार्नुपर्ने बताए । तीन तहकै सरकारका लडाइँमा यातायात व्यवसायीलाई बीचमा नपार्न उनले आग्रह गरे । ‘यातायात क्षेत्र कुन तहको सरकारले हेर्ने हो, त्यो प्रष्ट हुनुपर्यो । कहिले कुन सरकारले कहिले कसले हामीलाई नियम लाद्ने प्रयास भइरहेको छ । तीन तहका सरकार बीचको झगडाको बीचमा यातायात व्यवसायीलाई नपारियोस्,’ उनले भने ।

महासंघका अर्का वरिष्ठ उपाध्यक्ष ऐनकुमार साईले दशैं अगाडि नै संस्था नविकरण हुने बताए । त्यसो नभए गण्डकीबाट आँफूले सबै व्यवसायीलाई साथ लिएर आन्दोलन थाल्ने उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै यातायात व्यवथा कार्यालय गण्डकी (सवारी) का प्रमुख डिल्लिराम रिज्यालले यातायात कम्पनीको तर्फबाट कार्यालयमा खटाइएकोहरु नै अहिले नयाँ विचौलिया बनेर स्वयम व्यवसायीलाई दुःख दिएको तर्फ ध्यान दिन आग्रह गरे । उनले ट्याक्सी चोकमा पालो कुरेर बस्ने काम कुन नियम अनुसार भइरहेको छ भन्दै यातायात व्यवसायीलाई प्रश्न समेत गरेका छन् ।

स्थानीय यातायात प्रालिका अध्यक्ष केदार पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष हरिषण केसी, पोखरा स्थित विभिन्न यातायात प्रालिका अध्यक्ष एवं प्रतिनिधि, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय सचिव भानु बराल, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका सचिव योगेन्द्रबहादुर केसी, मजदुर सम्बद्ध विभिन्न संगठनका नेताहरु लगायतले यातायात क्षेत्रमा देखिएका समस्याका बारेमा बोलेका थिए ।

 

  • ९ आश्विन २०८०, मंगलवार १९:०९ प्रकाशित