सरकारलाई ओलीको चेतावनी : भने,‘सत्यसँग सिङ नजुधाउनु बेरसवेर भाँचिन्छ’

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्यसँग सिङ नजुधाउन चेतावनी दिएका छन् ।

काठमाडौंमा सोमबारबाट सुरु भएको पार्टीको बागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार अहिले सत्यसँग सिङ जुधाउन व्यस्त रहेको भन्दै सरकारको सिङ बेरसबेर भाँचिने बताएका हुन् । उनले सरकार आफै मुलुकको अवस्था बिगार्न लागिरहेको पनि बताए ।

उनले भने, ‘सत्य एउटै हुन्छ, म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु सत्यसँग सिङ नजुधाउनु बेरसवेर भाँचिन्छ । फुक्लिन्छ । शिक्षकहरुसँग दम्भ नदेखाउनुस् ।’ उनले शिक्षकसँगको वार्ता शिक्षा मन्त्रालयमा वार्ता नगरेर गृह मन्त्रालयमा वार्ता गरेको भन्दै एक थरीसँग वार्ता गरेपनि अर्को थरीलाई बेवास्ता गरिरहेको बताए ।

‘अवस्थालाई बिगार्न सरकार आफै लागेको छ’, उनले भने, ‘शिक्षकहरु सडकमा छन् । सरकारलाई ढुक्क लागेको होला स्थायी र करार भनेर विभाजन गरेँ, केहीलाई फिर्ता गरेँ । केहीलाई सडकमा पठाएँ भनेर ।’

उनले सरकारको ध्यानाकर्षण गराउँदै शक्ति विभाजन गर्नसकेपनि सत्य विभाजन गर्न नसक्ने बताए । ‘शक्ति विभाजित गर्न सकिएला तर सत्य विभाजित हुँदैन ।

उनले एक जना युवा सडकमा १२५ घण्टादेखि सत्याग्रहमा रहेपनि सरकारले बेवास्ता गरेको बताए ।उनले १७ दिनसम्म संसद् बन्द गरेकोमा पनि आक्रोश पोखे ।

  • ८ आश्विन २०८०, सोमबार १५:५० प्रकाशित