सरकार र आन्दोलनरत शिक्षक बीच सात बुँदे सहमति

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकार र काठमाडौंमा आन्दोलरत शिक्षकहरुबीच सहमति भएको छ । शुक्रबार भएको चौथो चरणको वार्ताामा सात बुँदे सहमति बनेसंगै आन्दोलनरत शिक्षकहरु आन्दोलनका कार्यक्रम फिर्ता लिन सहमत भएका छन् । आन्दोलित शिक्षकहरु उक्त सहमतिमा हस्ताक्षर गर्न तयार भएसँगै अब आइतबारदेखि देशभरका विद्यालय खुल्ने भएका छन् ।

विभिन्न १७ बुँदे माग राखेर काठमाडौं केन्द्रित शिक्षकहरुको आन्दोलन सरकारसंग भएको सहमतिसंगै जारी राखेको आन्दोलन। शिक्षकहरुले देशभरका सरकारी र सामुदायिक विद्यालय पूरै बन्द गरिदिएका थिए ।

वार्तामा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राई र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङ सहभागी थिए । त्यसैगरी सरोकारवाला मन्त्रालयका सचिवहरू पनि बैठकमा उपस्थित थिए ।

आन्दोलनरत महासंघको तर्फबाट अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदी, आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुली, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधि थिए ।

यसअघि बुधबार र बिहीबार पनि शिक्षकहरुका मागलाई लिएर वार्ता भएको थियो । बिहीबार बिहान पनि भएको वार्ता त्यतिकै सकिएको थियो। त्यसपछि फेरि शिक्षकहरुले काठमाडौंको ट्राफिक अस्तव्यस्त बनाउँदै सडक आन्दोलन गरेका थिए । सडक आन्दोलन दुई दिनदेखि जारी छ। बिहीबार बेलुका र शुक्रबार बिहानको वार्तामा सहमति नबनेपछि आन्दोलनले निरन्तरता पाएको थियो।

गत हप्ता सरकारले संसदमा दर्ता गरेको विधेयकप्रति शिक्षकहरु असन्तुष्ट थिए । शिक्षकको सरुवा, बढुवा र कारबाहीको व्यवस्था स्थानीय तहलाई दिन नहुने, शिक्षकलाई ट्रेड युनियन अधिकार दिनुपर्नेजस्ता राजनीतिक र सेवा सुविधासँग सम्बन्धित गरी १७ बुँदे माग राखेर शिक्षक महासंघले बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको थियो ।

सरकारले विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा दर्ता गरेपछि त्यसमा रहेका प्रावधानप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरूले आन्दोलन गरेका थिए । शिक्षकको सरुवा, बढुवा र कारबाहीको व्यवस्था स्थानीय तहलाई दिन नहुने, शिक्षकलाई ट्रेड युनियन अधिकार दिनुपर्नेजस्ता राजनीतिक र सेवा सुविधासँग सम्बन्धित गरी विभिन्न १७ बुँदे माग राखेर शिक्षकहरुले देशभरका सरकारी र सामुदायिक विद्यालय पूरै बन्द गरिदिएका थिए ।

 

  • ५ आश्विन २०८०, शुक्रबार १८:०२ प्रकाशित