सरकार र आन्दोलनरत शिक्षकहरुको वार्ता निस्कर्ष विहीन

केन्द्रभाग मिडिया

 

काठमाडौं ।

आन्दोलनरत शिक्षकहरु र सरकारबीच आज साँझ भएको वार्ता निस्कर्षविहिन भएको छ । गृहमन्त्रालयमा भएको वार्तामा कुनै सहमति नजुटेको हो । वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै कानूमन्त्री धनराज गुरुङले भोलि टुंग्याइने बताए । उनले समस्या टुंगिएपछि विद्यालय खुल्ने बताएका छन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णुप्रसाद भण्डारीका अनुसार शुक्रबार बिहान ९ बजे औपचारिक रूपमा छलफल गर्ने सहमतिमा आजको बैठक सकिएको हो । अहिले सरकारले बुँदागत रूपमा कुरा राखे पनि पत्र नआएकाले छलफल मात्रै भएको उनले बताए ।

बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राई, अर्थमन्त्री प्रकाशशरण महत र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङ र सरोकारवाला मन्त्रालयका सचिवहरूको उपस्थिति थियो ।

शिक्षा विधेयकको विरोधमा शिक्षकहरूले बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरू गरेका हुन् । शिक्षकहरूले माइतीघर र बानेश्वरमा प्रदर्शन गरेका थिए । बिहीबार बिहान पनि शिक्षक र सरकारबीच छलफल भएको थियो । तर उक्त बैठक निष्कर्षविहीन भएको थियो ।

 

  • ४ आश्विन २०८०, बिहीबार २२:०९ प्रकाशित